कर्णालीमा छैन रासायनिक मल, रित्तै छ गोदाम
सुर्खेत : मानो रोपेर मुरी उब्जाउने सिजन शुरु भइसकेको कर्णाली प्रदेशमा रासायनिक मलको अभाव भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतमा अहिले एक सय ५० टन डीएपी र १० टन पोटास मल मात्रै मौज्दात छ । युरिया मल राख्ने गोदाम भने रित्तै छ ।
गतवर्ष मङ्सिरमा ८ सय ९४ टन आएको युरिया मल चैतमै सकिएको छ । कर्णालीका केही जिल्लामा धान रोप्न शुरु गरिएको छ भने केही जिल्लामा कृषकहरु धानको विऊ (ब्याड) राख्न व्यस्त छन् । समयमै मल नपाउँदा उत्पादनमा ह्रास आउने सुर्खेतका कृषक जगत महतराले चिन्ता व्यक्त गरे । उनले समयमै युरिया मलको ढुवानी गरेर कृषकलाई राहत दिन माग गरे ।
कर्णालीको जुम्ला, हुम्ला, डोल्पा, कालिकोट र मुगु जिल्लामा रासायनिक मल प्रयोगमा रोक लगाइएको छ । तर दैलेख, सुर्खेत, सल्यान, जाजरकोट र रुकुमपश्चिमका कृषकहरुले मात्रै रासायनिक मलको प्रयोग गर्दैआएका छन् । यी जिल्लामा पोटास र डीएपीभन्दा युरिया मल बढी खपत हुनेगरेको छ । सल्यान र रुकुम पश्चिममा दाङ तथा बाँकी तीन जिल्लामा सुर्खेतबाट मल आपूर्ती गर्दैआएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख अमुल्यलाल श्रेष्ठले जानकारी दिए ।
कर्णालीका १०८ सहकारी संस्थासँग सम्झौता गरेर मल विक्री गर्ने गरेको प्रमुख श्रेष्ठले बताए । हाल डीएपी र पोटास मल विक्री भइरहेको उनले जानकारी दिए कर्णालीमा वितरण हुने ७० प्रतिशत मल कृषि सामग्री र ३० प्रतिशत साल्ट टे«डिङ्ग कर्पोरेशनले वितरण गर्दैआएको छ ।साभार गोरखापत्र