Loading... आजः मङ्लबार, जेष्ठ ८, २०८१
Trending

चार नगरपालिकामा द्विपक्षीय प्रतिस्पर्धा

दैलेख  :  स्थानीय तहको निर्वाचनको मिति नजिकिए सँगै दैलेखमा रहेका चार नगरपालिकामा द्विपक्षीय प्रतिस्पर्धा हुने भएको छ । दैलेखमा रहेका प्रमुख राजनैतिक दल नेपाली काँग्रेस र एमालेबिच प्रतिस्पर्धा हुने निश्चित भएको हो । २०७४ को स्थानीय तहको निर्वाचनमा तीन नगरपालिकामा नेकपा एमालेले नगर प्रमुख र तीन नगरपालिकाका उप प्रमुख जितेको थियो । नेपाली काँग्रेसले दुल्लु नगरपालिकाको प्रमुख र आठबिस नगरपालिकाको उप प्रमुखमा जितेको थियो ।

नेकपा एमाले आफ्नो विगतको विरासत जोगाउने कसरतमा लागेको छ भने नेपाली काँग्रेस त्यसलाई भत्काएर आफ्नो विजयी हुने विश्वासका साथ निर्वाचनमा होमिएको छ । नेकपा एमाले विभाजित भएको अवस्थामा चारै नगरपालिकामा सहज अवस्थामा निर्वाचन जित्ने दाउमा नेपाली काँग्रेस भए पनि एमालेले चारै नगरपालिकामा पुराना नेता तथा जित्न सक्ने नेताहरूलाई टिकट दिएपछि प्रतिस्पर्धा पुरानै हुने निश्चित भएको हो ।

नेकपा एमालेले चार वटै नगरपालिकाको प्रमुख र उप प्रमुखमा नयाँ उम्मेदवार बनाएको छ भने नेपाली काँग्रेसले दुई नगरपालिकाको नगर प्रमुखमा २०७४ सालको निर्वाचनमा उपविजेता बनेका उम्मेदवारलाई टिकट दिएको छ भने दुई नगरपालिकामा नयाँ अनुहारलाई नगर प्रमुखको टिकट दिएको छ । आठबिस नगरपालिकामा प्रमुखमा नेकपा एमालेका खड्गराज उपाध्यायले तीन हजार ९२७ मत ल्याएर विजयी हुँदा नेपाली काँग्रेसका उम्मेदवार प्रेम प्रकाश शाहीले तीन हजार ८८० मत प्राप्त गरेका थिए । चामुण्डाबिन्द्रासैनी नगरपालिकामा नेकपा एमालेका सूर्य बहादुर शाहीले दुई हजार ७७३ मत प्राप्त गरी विजयी हुँदा उप विजेता बन्नुभएका नेपाली काँग्रेसका गणेश बहादुर शाहीले दुई हजार ६७१ मत प्राप्त गरेका थिए ।

नारायण नगरपालिका नेकपा एमालेका रत्न बहादुर खड्काले चार हजार २५ मत प्राप्त गरी विजयी हुँदा नेपाली काँग्रेसका सभापति रहेका मणिराम रेग्मीले चार हजार ५२५ मत प्राप्त गरी उप विजेता बनेका थिए । दुल्लु नगरपालिकामा नेपाली काँग्रेसका घनश्याम भण्डारीले छ हजार ३४९ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका बरुनाथ योगीले छ हजार २७१ मत प्राप्त गरी उप विजेता बनेका थिए । बरुनाथ यौगी एकिकृत समाजबादीमा लागेका छन ।

नारायण नगरपालिकामा एमाले बाट उप प्रमुखमा विजयी हुनुभएकी सावित्री मल्ल नेकपा एकीकृत समाजवादी पार्टीमा लागेको र गठबन्धन बाट उप प्रमुखको उम्मेदवार बनेका कारण नेपाली काँग्रेसले नारायणमा आफ्नो जीत हुने बताइरहेको छ । नेपाली काँग्रेसले नगर प्रमुखमा निर्मला कुमारी खड्कालाई नगरप्रमुखको उम्मेदवार बनाउँदा नेकपा एमालेले पनि पार्टीका पुराना नेता लोमन शर्मालाई उम्मेदवार बनाएको छ । २०७४ सालमा भएको प्रदेश सभाको निर्वाचनमा दैलेख निर्वाचन क्षेत्र नः १ को (ख) बाट प्रदेश सांसद उम्मेदवार भए पनि अन्तिममा टिकट पाउनुभएको थिएन । उप प्रमुखमा पनि एमालेले चर्चित महिला नेतृ तप्ता थापालाई उम्मेदवार बनाएको छ ।

दुल्लु नगरपालिकामा नेपाली काँग्रेस नेकपा माओबादी केन्द्रको गठबन्धन भएको एमाले फुटेको असरको फाइदा हुने जित्ने अनुमान नेपाली काँग्रेसले गरेको छ । नेकपा एमालेले युवा नेता रुद्र शाहीलाई उम्मेदवार बनाएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नगर प्रमुखको र प्रदेश सांसदको लागि निर्वाचन हुँदा एक नम्बरमा सिफारिस भए पनि दुबैमा टिकट नपाएका रुद्र शाहीलाई उम्मेदवारी बनाएका कारण रोचक प्रतिस्पर्धा हुने भएको छ । अघिल्लो निर्वाचनमा नेपाली काँग्रेस बाट नगर प्रमुख जितेका घनश्याम भण्डारी सहिद पूर्ण भण्डारीको छोरा भएका कारण सहानुभूति मत प्राप्त गरेपछि अहिले त्यो अवस्था नभएका कारण एमाले आफू जित्नेमा ढुक्क भएको छ ।

 

चामुण्डाबिन्द्रासैनी नगरपालिकामा नेपाली काँग्रेसले गणेश बहादुर शाहीलाई उम्मेदवार बनाएको छ । उनी २०७४ सालको स्थानीय निर्वाचनमा उप बिजेता बनेका थिए । अघिल्लो निर्वाचनमा झिनो मतले पराजित भएको र अहिले एमाले विभाजन भएको अवस्थामा सहज रूपमा निर्वाचन जित्ने नेपाली काँग्रेसले बुझाई छ ।

नेकपा एमालेले पार्टीका पुराना नेता तथा पूर्व जिल्ला विकास समितिका उपसभापति सूर्य बहादुर शाहीलाई उम्मेदवार बनाएको छ । २०७४ सालको प्रदेश सभा निर्वाचनमा निर्वाचन क्षेत्र नः २ को (ख) बाट उम्मेदवार सिफारिस भएर टिकट नपाएको र पार्टीको भर्खरै सम्पन्न भएको निर्वाचनमा अध्यक्षमा पराजित भएका उनलाई उम्मेदवार बनाएपछि रोचक प्रतिस्पर्धा हुने भएको छ ।

आठबिस नगरपालिकामा नेपाली काँग्रेसले नगर प्रमुखमा प्रेम प्रकाश शाहीलाई नै उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा उप विजेता बनेका शाहीलाई सहानुभूति मत प्राप्त गरी जित्ने दाउमा नेपाली काँग्रेस छ । नेकपा एमालेले भने २०७४ सालको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी बाट नगर प्रमुखको उम्मेदवार भई एक हजार दुई सय मत प्राप्त गरेका तर्क बहादुर बडूवाललाई उम्मेदवार बनाएको छ । एमालेले मजदुरका केही भोट तान्ने नेकपा एमालेको पुरानै मताभरलाई मात्र आधार मानेर निर्वाचन जित्नेमा ढुक्क भएको छ ।