११ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
दैलेख : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन् । जिल्लाका ११ स्थानीय तह मध्ये नारायण नगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र दश स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । निर्वाचन आयोगको परिपत्र अनुसार वैशाख ८ गते मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्देशन बमोजिम कार्यालय स्थापना गरिएको बताइएको छ ।
निर्वाचन कार्यालय दैलेखका अनुसार जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनु अघि नै जिल्लामा रहेका राजनैतिक दलहरू सँग आचारसंहिता पालना गर्ने सम्बन्धमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिसकेको हुँदा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनका विषयमा मात्र छलफल गर्ने र अन्य प्रक्रियाका विषयमा वैशाख ११ गते बाट सुरु हुने जनाएको छ । निर्वाचन कार्यालय दैलेखका निर्वाचन अधिकृत मनमाया काउचाले जिल्लामा रहेका अन्य दश स्थानीय तहमा भने निर्वाचन अधिकृतको कार्यालय स्थापना सँगै गाउँपालिकामा रहेका राजनैतिक दल,नागरिक समाज र सरोकारवाला निकाय बिच सर्वदलीय बैठकको आयोजना समेत गरिएको बताईन ।
डुगेश्वर गाउँपालिकाका निर्वाचन अधिकृत विष्णु पौडेलले निर्वाचन कार्यालय स्थापना गर्नु अघि त्यहाँको पुर्बधारको अवस्था,मतगणना गर्नका लागि हलको स्थान, सुरक्षाका दृष्ट्रिकोणले सुरक्षित लगायत विषयमा अवलोकन गरेपश्चात् कार्यालय स्थापना गरिएको बताए । उनले निर्वाचन अधिकृतको कार्यालय स्थापना सँगै निर्वाचनलाई स्वच्छ,शान्त र भए रहित वातावरणमा सम्पन्न गर्नका लागि सरोकारवाला निकायहरूको सर्वदलीय बैठक आयोजना गरी राजनैतिक दल तथा सरोकारवाला निकाय बाट आचारसहिता पालना गर्ने प्रतिबद्धता आएको बताए ।
आयोगले उम्मेदवारको मनोनयनको लागि यही वैशाख ११ र १२ गतेको समय तोकेको छ । १३ गते उम्मेदवारमाथि उजुरी दर्ता गर्ने दिन तोकिएको छ भने १४ गते निर्वाचन अधिकृतले त्यसबारेमा निर्णय दिने कार्यक्रम छ ।उम्मेदवारको मनोनयन, दाबी विरोध, अन्तिम नामावली प्रकाशन गर्ने, मतदानपछि मतगणनालगायत कार्यहरू निर्वाचन अधिकृत कार्यालयले सञ्चालन गर्नेछ ।