सल्यानमा सत्ता गठबन्धन भाँडियो
सल्यान : सल्यानमा सत्तारुढ दलहरुबीच हुने भनिएको गठबन्धन भाँडिएको छ । दलहरूका आ–आफ्नै दाबी र अडानका कारण सहमति नजुटेपछि एक्लाएक्लै चुनावमा जाने निर्णय नै भएको छ ।
नेपाली काँग्रेस सल्यानका पार्टी सभापति केशबहादुर विष्टको अध्यक्षतामा आइतबार बसेको बैठकले एक्लाएक्लै चुनावमा जाने निर्णय गरेको हो । विष्टले भने, ‘गठबन्धन दलका तर्फबाट पालिकास्तरको बाँडफाँडका विषयमा सहमति गर्न कठिनाई भएकाले निर्वाचनमा मैत्रिपूर्ण र स्वछ प्रतिस्पर्धासहित चुनावमा जाने निर्णय गरियो।’
बैठकमा तीनवटै दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सल्यानमा काँग्रेसभित्रै पनि आन्तरिक द्वन्द्व भएका कारण गठबन्धन बन्ने कुरामा माओवादी र एकीकृत समाजवादीले आशंका गरेका थिए ।