Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

एघार पालिकामा गठबन्धन गर्ने निर्णय

दैलेख :  स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरिएको छ । दैलेखमा क्रियाशिल चार राजनीतिक दलले आसन्न स्थानीय तह चुनावमा गठबन्धन गर्ने निर्णय गरेका हुन । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाले दैलेखका ११ वटै स्थानीय तहमा गठबन्धन गरेर निर्वाचनमा जाने सहमति गरेका छन् ।
नेपाली काँग्रेसका जिल्ला सभापति मणिराम रेग्मी, नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक प्रेमबहादुर कटुवाल क्षेत्री, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष बरुनाथ योगी र राष्ट्रिय जनमोर्चाका कार्यवाहाक अध्यक्ष लोगपाल थापाको संयुक्त बैठकले जिल्लाका ११ वटै स्थानीय तहका सबै ९० वटै वडामा गठबन्धन गर्ने निर्णय गरेको हो ।
नेपाली काँग्रेस दैलेखका सभापति मणिराम रेग्मीले केन्द्रमा भएको गठबन्धन अनुसार जिल्लामा गठबन्धन गरिएको बताए । उनले गठबन्धन गर्ने निर्णय अनुसार नेपाली काँग्रेसले स्थानीय तहमा पार्टी बाट पठाउने उम्मेदवारको नाम समेत सार्वजनिक नगरिएको बताए । उनले भने अहिले उम्मेदवारको नाम सार्वजनिक गर्दा भोली कसका भागमा पर्ने हो त्यसले झनै कमजोर बनाउने काम गर्छ ।

बैठकपछि चार दलले जारी गरेको संयुक्त अपिल अनुसार निर्वाचन केन्द्रीत सम्पूर्ण कामहरुलाई व्यवस्थित गर्न चार वटै दलका पार्टी प्रमुख सहित ७ जना गठबन्धन संयन्त्र गठन गरेको उल्लेख छ । चार वटै दलले जिल्ला तथा पालिका तहमा सत्ता गठबन्धनलाई व्यवस्थित गर्न गठबन्धनको मर्ममा चोट पुग्ने कुनै पनि गतिविधि सञ्चालन तथा अभिव्यक्त नगर्न निर्देशन समेत दिएको छ । चार वटै दलहरुले पालिका तहमा समेत तत्काल जिल्लाकै मोडलमा संयन्त्र बनाएर बैठक बस्न निर्देशन समेत दिएको छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा दैलेखमा रहेको ११ स्थानीय तह मध्ये सात स्थानीय तहमा एमालेले प्रमुख र एक स्थानीय तहमा उप प्रमुख जितेको थियो । नेपाली काँगेसले चार स्थानीय चार स्थानीय तहमा प्रमुख र एक स्थानीय तहमा उप प्रमुख जितेको थियो । नेकपा एमाले बाट निर्वाचित महावु गाउँपालिकाका अध्यक्ष जंग बहादुर शाही उप प्रमुख प्रेम कुमारी बुढा,नारायण नगरपालिकाका उप प्रमुख साबित्री मल्ल ठाटिकाँध गाउँपालिकाका उप प्रमुख सुस्मीता सिह भने एकिकृत समाजबादीमा लागेका छन ।