Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

कर्णालीमा प्रादेशिक विमानस्थलको खोजी

सुर्खेत  :  कर्णालीमा प्रादेशिकस्तरको विमानस्थलका लागि नयाँ विकल्पको खोजी सुरु भएको छ। हाल कर्णालीमा छोटा धावनमार्ग भएका र साँघुरा विमानस्थल छन्। जसले गर्दा धेरै सिट क्षमता भएका जहाज अवतरण गर्न सक्दैनन्। यही समस्या समाधानका लागि प्रदेश स्तरको ठूलो विमानस्थलको खोजी गर्न लागिएको हो।
भौगोलिक विकटताका कारण प्रदेश राजधानीमा रहेको सुर्खेत विमानस्थल एकमात्र विकल्प थियो। केन्द्र र प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा सुर्खेत विमानस्थल विस्तारका लागि बजेट नै विनियोजन गरेका थिए। तर स्थानीय बासिन्दाको असहमतिका कारण काम अगाडि बढ्न सकेन। यो विमानस्थल विस्तारका लागि स्थानीय बासिन्दासँग सहमति जुट्न नसकेको, आर्थिकरुपमा पनि खर्चिलो र दिर्घकालीनरुपमा समस्याको समाधान नहुने भएपछि प्रदेश सरकारले अब नयाँ विमानस्थलको खोजी गर्ने भएको हो।

स्थानीय नागरिक, जनप्रतिनिधि, प्रदेश सरकार र सुर्खेत नागरिक उड्डयन प्राधिकरणबीच विमानस्थल विस्तारबारे आइतबार मात्र छलफल भएको थियो। उक्त छलफलमा अब सुर्खेत विमानस्थल विस्तार नगर्ने निस्कर्ष निकालिएको हो। बरु नयाँ स्थानमा ठूलो क्षमताको विमानस्थलको खोजी गर्ने सहमति जुटेको छ। ‘सुर्खेत विमानस्थल विस्तार गर्दा आर्थिक र प्राविधिक रुपले दीर्घकालीन देखिएन’ नागरिक सरोकार समितिका संयोजक टिकाराम आचार्यले भने, अब विमानस्थलको विकल्प खोज्ने सहमति भयो।’ विस्तार गर्दा पनि यो विमानस्थलबाट दीर्घकालीन समाधान नहुने भएकाले नयाँ विकल्प खोज्ने सहमति भएको उनको भनाइ छ।

‘अहिलेको योजनाअनुसार विमानस्थल विस्तार गर्दा दीर्घकालीन नहुने भयो, दुईचार वर्षपछि फेरि विस्तार गर्नुपर्ने देखियो’वीरेन्द्रनगर नगरपालिका वडा नं १२ का वडाध्यक्ष लोकप्रसाद चालिसेले भने,यहीकारण अब प्रादेशिक विमानस्थलका लागि नयाँ विकल्प खोज्ने सहमति भएको छ।’ सुर्खेत विमानस्थलको धावनमार्गको लम्बाई हाल एक हजार दुई सय ५५ मिटर मात्र छ। विस्तार गरेर धावनमागलार्ई एक हजार पाँच सय ५५ मिटर बनाउने योजना थियो। विस्तार गर्दा पनि ठूला जहाजका लागि उपयुक्त नहुने, विमानस्थल विस्तार तथा प्रभावित क्षेत्रका नागरिकलाई मुआब्जा बाँड्न मात्रै साढे नौ अर्ब रूपैयाँ खर्च हुने देखिएपछि विमानस्थल विस्तारको योजनाबाट सरकार पछाडि हटेको हो।