सेताम्मे डाँडामा हिउँ खेल्नेको भिड
दैलेख : दैलेख जिल्लाका विभिन्न भुभागमा परेको हिउँ खेल्न नागरिकको भिड लाग्ने गरेको छ । बिहीबार देखी परेको हिमपात विगत १० वर्षकै ठुलो हिमपात भएका कारण पनि नागरिकहरू हिउँ खेल्न जिल्लाका विभिन्न भूभागमा पुगेका हुन । जिल्लाको महावुलेख,जाजरकोट र दैलेखको सिमाना सुयडा बजार ,ठाटिकाँध गाउँपालिकाको दहकाँध,बिजारे र सुर्खेत र दैलेखको सिमाना गुराँसेमा समेत हिउँ खेल्न नागरिकको लर्को लागेको छ ।
हिउँ खेल्न आउने कारण सुर्खेत–दैलेख सडक खण्डको छेडादेखि राता नाङ्लासम्म १५ किलोमिटर उकालो मोडमा शनिवार दिनभर सवारी भएको थियो । कर्णाली प्रदेशको राजधानी बाट नजिक पर्ने भएका कारण पनि गुराँसे लेकमा हिउँ खेल्न पुगेका सयौँ मोटरसाइकल, निजी कार, भाडाका जिपहरू ल्याएर आएका नागरिक दिनभर जाममा परेका थिए ।
जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख उपेन्द्र आर्चायले हिउँ खेल्न जाने सर्बसाधरणका सवारी साधन व्यवस्थापन गर्न समस्या भएको बताए । उनले सुर्खेत बाट नजिक पर्ने र शनिवार भएका कारण पनि नागरिकको ठुलो भिड लागेको बताए । उनले तराईका जिल्ला नेपालगन्ज, बर्दिया बाट हिउँ खेल्न नागरिकहरू गुराँसे पुगेको बताए । उनले भने मोटरसाइकल, साना मिनिबस गरेर १५ सय भन्दा बढी सवारी साधन त्यहाँ पुगेर त्यसको व्यवस्थापनका लागि ११ जना ट्राफिक प्रहरी परिचालन गरिएको थियो ।
गुराँस गाउँपालिका –५ नौमुले होटेलका सञ्चालक देवीराम शर्माले हिउँ खेल्न आएका पर्यटकका कारण गुराँसे बजार,सिद्धपाइला र रानिमत्ताका सबै होटेल भरिभराउ भएको बताए । उनले हिउँ खेल्न पुग्ने सवारी साधनका कारण सार्वजनिक यातायात समेत अवरुद्ध बनेको बताए ।
त्यस्तै महावु गाउँपालिका र कालिकोट जिल्लाको सिमानामो समेत हिउँ खेल्न नागरिकहरू पुगेका छन् । गुराँसेमा हिउँ खेल्न जाँदा बाटो अरुद्ध भएका कारण महावु लेकमा हिउँ खेल्न गएको स्थानीयहरूले बताएका छन् । नारायण नगरपालिका–१ का दुर्गा प्रसाद न्यौपाने गाडी आधीबाटोमा सम्म गए पनि हिउँ सम्म पुगेर हिउँ खेलेको बताए । उनले सामाजिक सञ्जाल टिकटकका भिडियो हाल्नको लागि धेरै नागरिक हिउँ खेल्न पुगेको बताए ।
नारायण नगरपालिका –४ सोतका गंगराम बस्नेतले पहिलो पटक धेरै नागरिक हिउँ खेल्न महावु पुगेको बताए । उनले गुराँसेमा जान सडक अवरुद्ध भएको र सुयडा जान मध्यपहाडी राजमार्गको मन्घर सडक खण्डमा बिग्रेका कारण पनि महावुमा चार हजार नागरिक हिउँ खेल्न पुगेको बताए ।