Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

विद्यालय बन्द भएपछि गाउँटोलमै पुगेर शिक्षण सिकाई

दैलेख  :  कोरोना सङ्क्रमण बढ्दै गएपछि सरकारले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेपछि बालबालिकाको शिक्षण सिकाइमा असर पुगेको भन्दै टोलमै पुगेर शिक्षण सिकाई थालिएको छ ।

जिल्लाको नौमुले गाउँपालिका –१ मा रहेको भैरव माध्यमिक विद्यालयले शिक्षक घुम्ती टोली बनाई टोलमै पुगेर शिक्षण सिकाई शुरु गरेको हो । नौमुले गाउँपालिकाका सातवटै वडामा बालबालिकालाई पायक पर्ने स्थान छनोट गरी शिक्षण सिकाई गरिरहेको विद्यालयले जानकारी दिएको छ ।

भैरव माध्यमिक विद्यालयका प्रधानाध्यापक नगेन्द्रबहादुर सिंहले चारवटा केन्द्र निर्धारण गरी शिक्षण सिकाई सहजीकरण गरेको बताए । उनले गाउँपालिका –१ का बालबालिकाका लागि ठुटे सिमल, गाउँपालिका –२ र ३ का लागि बालटार, गाउँपालिका –४ का बालबालिका लागि भित्रिखोला ५ र ६ का बालबालिकाका लागि पुलचोक केन्द्र निर्धारण गरिएको बताए ।

विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, गाउँपालिका शिक्षा शाखा र शिक्षकहरूले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई विद्यार्थी संख्याको आधारमा पायक पर्ने केन्द्र निर्धारण गरेपछि शिक्षण सिकाई गरिएको बताए । उनले भने कोरोना जोखिमकाबीच शिक्षण सिकाई निर्देशिका २०७७ अनुसार स्वास्थ्य मापदण्ड पुरा गरी शिक्षण सिकाई सहजीकरण गरेका छौ ।

नौमुले गाउँपालिका शिक्षा शाखाका प्रमुख देवेन्द्रबहादुर कठायतले भैरव माध्यमिक विद्यालयले गरेजस्तै अन्य विद्यालयमा पनि त्यसैगरी शिक्षण सहजीकरण गर्ने तयारी गरिएको बताए । उनले प्रधानध्यापकहरुको बैठक बसी विद्यालय प्रशासन, अभिभावकलाई आवश्यक केन्द्र निर्धारण गरी शिक्षण सहजीकरण गर्ने निर्णय भएको बताए । उनले भने “मन्त्रालयले गरेको परिपत्रका आधारमा विद्यालय सञ्चालन हुन नसक्ने भएका कारण यस्तो निर्णय गाउँपालिकाले गरेको हो ।”

कोभिड १९ ले पारेको सङ्कटकाबेला निःशुल्क मनोसामाजिक परामर्श समेत बालबालिकालाई दिने गरेको जानकारी दिएको माध्यमिक विद्यालयका शिक्षक बखतबहादुर बुढाले बताए । उनले पढाइसँगै लेखन सीपसम्बन्धी कला, नियमित हात धुने बानीको विकास तथा सरसफाइ, आत्मबल बढाउनेसम्बन्धी जानकारी दिने गरेको उहाँले बताए ।

जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ दैलेखका प्रमुख तेजबहादुर थापाले कोरोना संक्रमण बढ्दै भएको खण्डमा गत वर्षजस्तै रेडियो शिक्षा कार्यक्रम, टोलमै पुगेर पठनपाठनजस्ता क्रियाकलाप सञ्चालन गरी बालबालिकालाई शिक्षा दिइने बताए । उनले प्रत्येक पालिकाका शिक्षा शाखालाई वैकल्पिक विधि अपनाएर बालबालिकालाई शिक्षण सिकाई सहजीकरण गर्न आवश्यक परामर्श गरिरहेको बताए ।