Loading... आजः सोमवार, अशोज २८, २०८१
Trending

गठबन्धन टिकाउन राज्‍यको सम्पत्ति दुरुपयोग गरेको कँडेलको आरोप

सुर्खेत  :  कर्णाली सरकारले गठबन्धन टिकाउन झ्यालझ्यालमा मन्त्रालयको साइनबोर्ड टाँसेको प्रमुख प्रतिपक्षी दल तथा नेकपा एमाले संसदीय दलका नेता यमलाल कँडेलको आरोप छ। बुधबार कर्णाली प्रदेशसभाको नवौं संसद् अधिवेशनमा बोल्दै उनले गठबन्धन टिकाउन व्यक्तिका घरको झ्यालझ्यालमा मन्त्रालयको साइनबोड टाँसेको आरोप लगाएका हुन्।

राज्यको साधान स्रोत र सम्पतिको दुरुपयोग गरी गठबन्धन टिकाउने बाटोमा हिँडेको कर्णाली सरकारले गठबन्धन टिकाउनकै लागि झ्यालझ्यालमा मन्त्रालयको साइनबोर्ड टाँसेको उनले आरोप लगाए।

‘यहाँ मान्छे र गठबन्धन टिकाउन झ्यालझ्यालमा मन्त्रालयको साइनबोर्ड टाँसेको दृष्य देखिन्छ। मुख्यमन्त्री जीवनबहादुर शाहीले हिम्मतका साथ थोरै तीन मन्त्रालय मात्रै बनाएर सरकार चलाउनुभएको छ’ उनले भने, ‘यस्तै, गरी सरकार चलाइराख्नु शुभकामना छ। थोरै मन्त्री भए कमसेकम पैसा त बच्छ।’

कर्णाली सरकारले डल्लो बजेटका नाममा एउटै जिल्लामा दुई सय वटासम्म टुक्रे योजना पारेर विकासका नाममा भ्रष्टाचार बढाएको कँडेलले तर्क गरे। चारपाँच लाखका टुक्रे योजना बनाएर समाजभन्दा घरमुखि बनाइएको उनले दाबी गरे।

‘त्यस्ता व्यक्तिमुखी योजना प्रदेशभर के कति छन्रु जानकारी चाहियो। नियमित काम गर्नुपर्ने योजनाको बजेट कटौती गरेर सरकारले भ्रणपोषणका योजनालाई प्राथमिकता दिएको छ’ उनले भने, ‘सरकार अभिलेखमा छ। व्यवहारमा छैन। व्यवहारमा आए एमालेको पनि साथ छ।’