एमाले सुर्खेतको अध्यक्षमा अमृत विसीको प्यानल विजयी
सुर्खेत : नेकपा एमाले सुर्खेतको अध्यक्षमा अमृत विसी निर्वाचित भएका छन् । आठौं जिल्ला अधिवेशनले सर्वसम्मत रूपमा नेतृत्व छनोट गर्न नसकेपछि निर्वाचनबाट टुंगो लगाइएको हो । निवर्तमान एमाले सुर्खेत उपाध्यक्ष रहेका विसीले ३६८ मत ल्याएर विजयी भएका हुन् ।
विसीका प्रत्याशी डण्डिप्रसाद शर्माले २६७ मत ल्याएर पराजित भएका छन् । यस्तै उपाध्यक्षमा पनि विसी प्यानलकै कुलमणि देवकोटाले ३९४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वि ऋषि गिरीले २२६ मत ल्याएर पराजित भए ।
यस्तै सचिवमा कविन्द्रकुमार केसीले ३९० मत ल्याएर विजयी भएका छन् । रेशम राना २३३ मात्रै प्राप्त गरे । दुइ पद रहेको उपसचिवमा घनश्याम पाण्डेले ३९१ र बलबहादुर नेपालीले ३६९ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वि टिकाराम सुवेदी २०९ र नेत्रलाल महताराले २०८ मत ल्याएर पराजित भएका छन् ।