भर्चुवल प्रविधि मार्फत निःशुल्क मनोसामाजिक परामर्श
दैलेख : परिवारमा कलह र झैझगडा, कसैको किशोरावस्थामा प्रेम सम्बन्ध र यौन जीवनका विविध समस्याहरु, दाम्पत्य जीवनका उतार चढावहरु आदि समस्याले गर्दा डर, त्रास, निराशा, दिक्दारी, अत्यास, थकाइ, अनिद्रा, धेरै बिर्सने बानी, अत्यधिक तनाव, डिप्रेशन लगायतका कारण मानसिक समस्यामा परेका नागरिकलाई भर्चुवल प्रविधि मार्फत निशुल्क मनोसामाजिक परामर्श गरिएको छ ।
नारायण नगरपालिका र मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल –सिएमसी)को सयुक्त साझेदारीमा संचालित सामुदायिक सामाजिक स्वास्थ्य कार्यक्र र कोभिड १९ सन्र्दभमा संचालित लैगिक हिंसा रोकथाम प्रतिकार्य कार्यक्रम मार्फत नारायण नगरपालिका –५ मा मानसिक समस्या भोगिरहेको नागरिकहरुलाई मनोसामाजिक परामर्श सेवा दिएको हो ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत मानसिक रोग बिशेषज्ञ डाक्टर सुशिल समर्दशीले मानसिक समस्या भएर औषधी खाइरहेका नागरिकहरुलाई भर्चुवल प्रविधि मार्फत मनोसामाजिक परामर्श सहित औषधी उपचारका विषयमा परामर्श दिएका थिए ।
नारायण नगरपालिका स्वास्थ्य शाखाका सह संयोजक लाल बहादुर खड्काले परिवारमा कलह र झैझगडा, दाम्पत्य जीवनका उतार चढावहरु, आर्थिक भार जस्ता समस्याले गर्दा नागरिकमा मानसिक समस्या देखिएको बताउँदै उनीहरुलाई आवश्यक औषधी र मनोसमाजिक परामर्श निशुल्क दिने गरेको बताए । उनले नागरिकहरुमा कोभिड महामारी तथा अन्य बिपदका कारण बालबालिका समेत मानसिक समस्यामा पर्ने गरेको बताए ।
उनले कोरोना महामारी जस्ता रोगहरुका कारण बालबालिकामा समेत प्रभाव परेको भन्दै नगरपालिकमा रहेको माध्यामिक विद्यालयका बालबालिकालाई समेत मनोसामाजिक परामर्श गर्ने गरेको बताए । उनले भने बालबालिकाको सिकाई तथा विद्यालय प्रतिको नकरात्मक धारण घटाएर उनीहरुको सिकाई तत्परताको विकास गरी विद्यालय नजाने तथा बिचैमा पढाई छाड्ने समस्या र आत्महत्या रोकथाम गर्न सकिन्छ ।
मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालका मनोसामाजिक परामर्शकर्ता अम्बिका पुलामीमगरले सामुदायिक सामाजिक स्वास्थ्य कार्यक्र र कोभिड १९ सन्र्दभमा संचालित लैगिक हिंसा रोकथाम प्रतिकार्य कार्यक्रम दैलेख नारायण नगरपालिका र दुल्लु नगरपालिकमा संचाल भएको जानकारी दिइन ।
उनले कार्यक्रम मार्फत दुई नगरपालिकाका चार सय ९५ जना मानसिक समस्यामा परेका नागरिकलाई निशुल्क औषधी र परामर्श सेवा दिएको बताइन । उनले कोरोना महामारी र लैगिक हिसाका कारण मानसिक समस्या भोगेका महिलाहरुलाई समेत परामर्श गर्ने गरेको बताइन । उनले भनिन् दुई वटै नगरपालिकामा रहेको सामुदायिक विद्यालय,समुदाय,आमा समुह,स्वास्थ्य स्वयमसेविकाहरुलाई समेत परामर्श दिने गरेका छौँ ।
नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम बहादुर बुढाले मानसिक समस्या परेका नगरपालिकाका नागरिकहरुका लागि नगरपालिकाले आवश्यक औषधी खरिद र प्रत्येक वडामा गएर मनोसामाजिक परामर्श दिन १० जना मनोसामाजिक परामर्शकर्ताले सेवा दिइरहेको बताए ।