एमाले महाधिवेशनमा पाँच पार्टीका प्रमुख नेता सहभागी हुने
काठमाडौं : एमाले महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न पाँच पार्टीका शीर्ष नेताहरूले शुभकामना मन्तव्य दिने तय भएको छ । एमालेले संघीय संसदमा प्रतिनिधित्व गर्ने सातवटा राजनीतिक दललाई उद्घाटन समारोहमा निम्तो गरेको थियो ।
पार्टी स्रोतका अनुसार महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित हुने निश्चित भइसकेको छ । यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि आफूहरू आउने जानकारी गराएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि कार्यक्रममा सहभागी हुने निश्चित गरेको पार्टीद्वारा आज आयोजित एक पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
एमाओवादी अध्यक्ष प्रचण्डले आउने नआउने टुंगो दिएका छैनन् भने एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई निम्ता गरिएको छैन । प्रचण्ड नआएको खण्डमा उनले प्रतिनिधिको रूपमा अर्को नेतालाई पठाउने बुझिएको छ ।