Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

कतारमाथि नेपालको शानदार जित

डडेल्धुरा  :  टी(२० सिरिजको पहिलो म्याचमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोली कतारविरुद्ध १ सय १९ रनले विजयी भएको छ। नेपालले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको कतारले ११.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र २७ रनमा अलआउट भयो। कतारका लागि खादिजा इम्तियाज र एन्जेलिन मारेले ८/८ तथा केरी पाउनसेटले ७ र रिज्फा बानोले ३ रन बनाइन्।

कुनै पनि खेलाडीले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्। उसका ६ खेलाडी शून्य रनमा आउट भए। नेपालका लागि कप्तान रुविना क्षत्रीले उत्कृष्ट बलिङ गरिन्। उनले १.५ ओभरमा १ रन मात्र खर्चिएर ३ विकेट लिइन्।

यस्तै, कविता कुँवर र सरस्वती कुमारीले २–२ विकेट लिँदा करुण भण्डारीको नाममा एक विकेट रह्यो। यसअघि दोहास्थित वेस्टएन्ड पार्क स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो।

नेपाली टोलीले टी–२० अन्तरराष्ट्रियमा बनाएको यो अहिलेसम्मकै उच्च योगफल हो। यसअघि नेपालले सन् २०१९ मा मलेसियाविरुद्ध १ सय २६ रन बनाएको थियो। नेपालका लागि इन्दु वर्माले अर्धशतकीय पारी खेलिन्।

उनले ४७ बलमा ५ चौकाको मद्दतमा ५५ रन बनाएर रिटायर्ड हर्ट भइन्। टी–२० अन्तरराष्ट्रियमा इन्दुको यो पहिलो अर्धशतक हो। यसका साथै उनी नेपालका लागि टी–२० आईमा अर्धशतक बनाउने पहिलो महिला खेलाडी पनि बनिन्।

यस्तै, सीता रानामगरले ३३ बलमा ४ चौकासहित ३९, सरिता मगरले २१ रन बनाउँदा कविता कुँवर ८ रनमा नटआउट रहे। काजल श्रेष्ठ ३ र कप्तान रुविना क्षत्री शून्य रनमा आउट भइन्।

बलिङमा एन्जेलिन मारे र सबिजा पाणयनले १–१ विकेट लिइन्। यस जितसँगै नेपालले तीन म्याच सिरिजमा १–० को अग्रता बनाएको छ। नेपाल र कतार पहिलोपटक टी–२० अन्तरराष्ट्रिय सिरिज खेलिरहेका हुन्। सिरिज सकिएपछि नेपाली टोली ३ मंसिरमा यूएईतर्फ लाग्ने कार्यक्रम छ।

जहाँ नेपालले आइसिसी वुमन्स टी–२० एसिया छनोटका खेल खेल्ने छ। पहिलो खेलमा ६ मंसिरमा हङकङसँग प्रतिस्पर्धा गर्दा ७ मंसिरमा भुटान र ९ मंसिरमा कुवेतसँग प्रतिस्पर्धा गर्ने कार्यतालिका छ।

त्यस्तै, १० मंसिरमा मलेसिया र १२ मंसिरमा युएईसँग प्रतिस्पर्धा गर्ने कार्यतालिका छ। सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी–२० विश्वकपको लागि नेपालसहित ६ राष्ट्रले ग्लोबल छनोटको लागि युएईमा एसिया छनोट खेल्न लागेका हुन्।