समन्वय समिति संविधानबाहिरको भूमिगत गिरोहको अभ्यास ः एमाले
काठमाडौं : प्रमुख विपक्षी नेकपा एमालेले सत्ता गठबन्धनले बनाएको दलीय संयन्त्रलाई पञ्चायतकालीन भूमिगत गिरोहको संज्ञा दिएको छ ।
एमाले निर्वाचन विभाग प्रमुख समेत रहेका पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले संविधानबाहिरको संयन्त्रले राजपाठ चलाउने भूमिगत गिरोहको अभ्यास सत्ता गठबन्धनले थालेको बताए ।
खरेलले अहिले जुन दलीय संयन्त्र बनाउनुभएको छ त्यो के को लागि दलहरूसँग समन्वय गर्न त आ–आफ्ना दल छदैछन् । उहाँहरूको यो अभ्यास भनेको संविधान र कानूनविपरीत राजपाठ चलाउने भूमिगत गिरोह हो । यसले राज्यका कर्मचारीतन्त्र, सुरक्षा निकाय र अदालतलाई समेत धम्क्याउने उद्देश्य देखिन्छ
खरेलले विगतमा केपी ओली नेतृत्वको सरकारका बेला समेत तत्कालीन नेकपाका केही नेताले यस्तै समानान्तर सत्ताको अभ्यास गर्न संयन्त्रको कुरा गरेको र त्यो सम्भव नभएपछि आफ्नै सरकार ढाल्न खेल सुरू गरिएको स्मरण गर्दै अहिले गठित संयन्त्र निर्वाचित निकाय र राज्यका अंगभन्दा बाहिरबाट राजपाठ चलाउने नियतबाट आएको बताए ।
पञ्चायतकालमा दरबारका केही व्यक्तिले समानान्तर सरकारको अभ्यास गरेपछि तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले त्यसलाई भूमिगत गिरोह भनेका थिए । उनको संकेत तत्कालीन महारानी ऐश्वर्या र तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रलक्षित थियो ।