Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

मानव बेचबिखन तथा ओसारपसारको जोखिममा कर्णाली प्रदेश

 

फाइल तस्बिर

सुर्खेत  : कर्णालीका बालबालिका मानव बेचबिखन तथा ओसारपसारको जोखिममा छन् । प्रदेशका सबैजसो जिल्लाबाट बालबालिकाको बेचबिखन तथा ओसारपसार हुने गरेको हो । बालबालिकाको कमजोर पारिवारिक स्थितिको फाइदा उठाउँदै अनेक प्रलोभनमा पारी काठमाडौं, पोखरा लगायतका सहरहरूमा लैजाने गरिएको छ ।

बालबालिकालाई यसरी गाउँबाट सहरसम्म लिन गिरोहहरू नै संलग्न छन् । प्रदेश प्रहरी कार्यालयअनुसार चार वर्षको अवधिमा कर्णालीका २० जना बालबालिका मानव बेचबिखन तथा ओसारपसारमा परेका छन् । आर्थिक वर्ष २०७४÷०७५ देखि २०७७ मा सुर्खेतका मात्रै नौ जना बेचबिखन तथा ओसारपसारमा परेका हुन् ।

यस्तै, यो अवधिमा सल्यानमा चार, जुम्लामा तीन, दैलेखमा दुई र कालीकोट तथा रुकुम (पश्चिम)मा एक–एक जनाको बेचबिखन भएको हो । यो तथ्याङ्क प्रहरीमा खोजतलासका लागि अनुरोध गरिएकाहरूको मात्र हो । हराएका अधिकांश बालबालिकाको उजुरी प्रहरीसम्म पनि आइपुग्दैन ।

प्रदेश प्रहरी कार्यालयअनुसार चार वर्षको अवधिमा कर्णालीका २० जना बालबालिका मानव बेचबिखन तथा ओसारपसारमा परेका छन् । आइतबार कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) नेपालले वीरेन्द्रनगरमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा कर्णालीमा मानव बेचबिखन तथा ओसारपसारको अवस्था डरलाग्दो रहेको बताइएको छ ।

अधिवक्ता कपिल अर्यालले गाउँगाउँबाट बालबालिकालाई काठमाडौंका बालगृहरूमा लगिने गरिएको बताए। ‘यहाँबाट लिएर बालगृहमा राखिन्छ,’ उनले भने, ‘उनीहरूलाई देखाएर विदेशी संस्था तथा व्यक्तिहरूबाट रकम असुल्ने गरिएको पाइन्छ ।’ वैदेशिक सहायताका लागि बालगृहका सञ्चालकहरूले बालबालिकालाई जबरजस्ती अनाथ बनाउने गरेको उनले बताए ।

केही वर्षयता बालबालिकालाई निःशुल्क पढ्ने–लेख्न र बस्न दिने प्रलोभन देखाई बालगृहमा राखेर जबरजस्ती धर्म परिवर्तन गराउने समेत गरिएको छ । छोराछोरी त्यस्ता ठाउँमा पठाएर अभिभावकहरूले समेत रकम असुल गरेका घटना समेत सार्वजनिक हुने गरेका छन् । परिवारबाटै ओसारपसारको जोखिम भएपछि बालबालिका थप असुरक्षित बनेका हुन् ।साभार नेपाली रैवार