Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

जुम्लामा खाद्यको सुपथ पसल सञ्चालन

खलङगा  :  सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाले सुपथ तथा सहुलियत छुट मूल्य पसल सञ्चालनमा ल्याएको छ।

कम्पनीले असोज १ देखि दसैंँ चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो। पसल कात्तिक २४ गतेसम्म सञ्चालनमा रहेको खाद्यले बताएको छ। सुपथ पसलबाट चामल र दाल सहुलियत मूल्यमा बिक्री गरिने शाखा कार्यालय जुम्लाका कार्यालय प्रमुख तिलक सुनारले बताए।

उनले भने, ‘अरुवा मोटा चामल प्रतिकिलो रु ४७ मा रु पाँच सहुलियत छुट लिएर रु ४२ मा बिक्री हुने गरेको छ, अरुवा सोना मन्सुली चामल प्रतिकिलो रु ५१.३०, मासको दाल प्रतिकिलो रु १७०, मसुरोको दाल प्रतिकिलो रु १४० र अरहरको दाल प्रतिकिलो रु १८३ मा प्रतिकिलो रु ५/५ सहुलियत छुट मूल्यमा बिक्री गरेका छौँ।’

खाद्य व्यवस्था कम्पनीले असोज १ देखि २४ कात्तिकसम्म सहुलियत छुट मूल्यमा बिक्री गर्न एक हजार क्विन्टल कोटा पाएको छ। सहुलियत पसल खुलेको पहिलो दिनमै १९ क्विन्टल छुट मूल्यमा खरिद बिक्री भएको शाखा प्रमुख सुनारले बताए।

सहुलियत छुट मूल्यमा चामल खरिद गर्ने यहाँका स्थानीयवासीको भीडभाड हुने भएकोले बिक्री–वितरण गर्न शाखाले तालिका सार्वजनिक गरेको छ। आइतबार चन्दननाथ नगरपालिका, सोमबार पातासारी गाउँपालिका, मङ्गलबार गुठीचौर, बुधबार तातोपानी, बिहीबार हिमा र कनकासुन्दरी एवं शुक्रबार तिला र सिञ्जाका लागि तोकिएको छ।

पसलमाबाट प्रतिव्यक्ति दुई बोरा (६० किलो) चामल खरिद गर्न पाउने व्यवस्था गरिएको छ। चामल लिन आउने सेवाग्राहीलाई अनिवार्य कोभिड–१९ को स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने खाद्यले जनाएको छ।