Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

सरकारको प्राथमिकतामा पर्दैन ब्लड बैंक, भरोसा सेना र प्रहरीकै

 

 

सुर्खेत  :  जीवनदानका लागि अति आवश्यक मानिएको रगतको आपूर्ति कर्णालीमा अझै पनि असहज छ । रक्तसञ्चार केन्द्रमा सङ्कलित रगत अपुग भएपछि सुर्खेतसहित कर्णाली प्रदेशमा बिरामीका आफन्तहरूले रक्तदाताहरू खोज्दै हिँड्नुपर्ने बाध्यता छ । रेडक्रस सुर्खेतको तथ्याङ्कअनुसार १५ प्रतिशत रगत बिरामीका आफन्तहरूले खोज्दै हिँड्नुपर्ने अवस्था छ ।

रेडक्रस सुर्खेतका वरिष्ठ अधिकृत गोविन्द आचार्यले स्वयंसेवी रक्तदाता, रक्तदान शिविरबाट करिब ८५ प्रतिशत रगत आपूर्ति हुन सकेको बताए । उनले अझै पनि करिब १५ प्रतिशत रगत बिरामीका आफन्तले रक्तदाता खोज्नुपर्ने अवस्था रहेको उल्लेख गरे । गत आर्थिक वर्ष विभिन्न सामाजिक सङ्घसंस्थाहरूको सहयोगमा ४६ वटा रक्तदान शिविर सञ्चालन गरी एक हजार ९६९ पिन्ट रगत सङ्कलन भएको थियो । यसमा १८ सय बढी पिन्ट खपत भएको थियो । करिब दुई हजार पिन्ट रगत संकलन भए पनि बिरामीका लागि अझै अपुग छ । बर्सेनि रगतको खपत पनि बढ्दै छ । अस्पतालमा बिरामीहरुको पहुँच बढ्दै जानु, अस्पतालमा नयाँ र जटिल किसिमका शल्यक्रियाको सुरुवात हुनुले रगतको माग बढेको छ ।

सुर्खेतमा रगतको माग बढ्दै गए पनि रगत भण्डारणको व्यवस्था हुन सकेको छैन । रक्तसञ्चार केन्द्रको स्तरोन्नति हुन नसक्दा भण्डार क्षामता पनि वृद्धि गर्न सकिएको छैन् । जिल्ला अस्पताल, क्षेत्रीय अस्पतालहुँदै अहिले प्रदेश अस्पताल नामकरण भए पनि रक्तसञ्चार केन्द्रलाई एउटै कोठाबाट काम चलाइएको रेडक्रस सुर्खेतका सभापति रामलाल आचार्यले बताए ।

उनले प्रदेशकै सबैभन्दा ठूलो अस्पताल भएकाले रक्तसञ्चार केन्द्रलाई कि जग्गा उपलब्ध गराउनुपर्ने कि सुविधा सम्पन्न कोठा दिइनुपर्ने उल्लेख गरे । स्थान अभावका कारण रगत भण्डारण गर्न नसकिएको उनको भनाइ छ । कर्णाली प्रदेशमा ब्लड बैंक प्रदेश सरकारको प्राथमिकतामा पर्न सकेको छैन ।

कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले यसका लागि कुनै रकम छुट्याएको छैन । मन्त्रालयका महाशाखा प्रमुख वृषबहादुर शाहीले ब्लड बैङ्कका लागि कुनै रकम नछुट्याएको बताए । यद्यपि कोभिड रोकथामको बजेटबाट रकमान्तर गर्न सकिने उनको भनाइ छ ।

कर्णाली प्रदेशको सबैभन्दा सुगम मानिने सुर्खेतमा ब्लड बैङ्क स्थापना हुन नसके पनि रक्त सञ्चार केन्द्रले रगत आपूर्ति गराइरहँदा अन्य जिल्लाहरूमा भने सेना र प्रहरीले रगत दिएर बिरामीको ज्यान बचाउने गरेका छन् । अझ विशेषगरी अत्यधिक रक्तस्राव भएका सुत्केरीहरूलाई सेना र प्रहरीले रगत दिएर बचाएका छन् । सुर्खेत बाहिर रगत आपूर्तिमा समेत कठिन छ । साभार नेपाली रैवार