विवेकशील साझा पनि फुटको संघारमा
काठमाडौं : वैचारिक विवादमा रुमल्लिएको विवेकशील साझा पार्टीको केन्द्रिय समितिमा अध्यक्ष रवीन्द्र मिश्र बलियो अवस्थामा देखिएका छन् । अध्यक्ष र संयोजकले समानान्तर वैठक बोलाउँदा उनको पक्षमा स्पष्ट बहुमत देखियो । डेढ घन्टाको अन्तरालमा मिश्र र संयोजक मिलन पाण्डेले समानान्तर भर्चुअल वैठक बोलाएका थिए । मिश्रले बोलाएको बैठकमा एक सय एकजना सहभागी भएका छन् । पाण्डेले बोलाएको वैठकमा ४५ जनाले केन्द्रीय सदस्यले भाग लिएका छन् ।
विवेकशील साझाको केन्द्रीय समितिमा १ सय ३० जना छन् । बहुमतका लागि ६६ जना सदस्यको समर्थन आवश्यक पर्छ । आज केही केन्द्रीय सदस्यले दुवैतर्फको वैठकमा भाग लिएका थिए । उनीहरूको हिसाब नगर्दा पनि मिश्रको पक्षमा आरामदायी बहुमत देखिएको छ ।
तत्कालीन विवेकशील नेपाली र साझा पार्टी एकता भएर विवेकशील–साझा पार्टी बनेको हो । एकताका क्रममा दुवैतर्फबाट ६५६५ जना राखेर १३० सदस्यीय केन्द्रीय समितिको गठन गरिएको थियो । तर, अहिलेको विवादमा विवेकशील र साझा भनेर केन्द्रीय सदस्यको कित्ताकाट भएको छैन ।
विवेकशीलका केही नेताले अध्यक्ष मिश्रको विचारलाई समर्थन गरेका छन् भने साझाका केही नेताले पाण्डेसँग नजिकिएका छन् । सचिवालय सदस्य मध्ये पूर्वविवेकशीलका ३ जना अहिले संस्थापनतिर लागेका छन् । यस्तै, पूर्वसाझाका ३ जना सचिवालय सदस्य पाण्डेको समुहमा लागेका छन् । केन्द्रीय सदस्यमा भने पूर्वविवेकशीलबाट मिश्रको समूहमा आउनेको संख्या ठूलो छ ।
पाण्डे पक्षको वैठक केहीबेर अघि स्थगित भएको छ । वैठकमा विविध एजेन्डामा छलफल भए पनि ठोस निर्णय केही भएन । भोली फेरि बस्ने गरी वैठक स्थगित गरिएको पार्टीका सञ्चार विभाग उपप्रमुख हरिश भट्टले जानकारी दिए ।
यता, संस्थापन पक्षको वैठकमा मिश्रको चर्चित दस्तावेज छलफलका लागि प्रस्तुत भएको छ । उक्त दस्तावेजमाथि केन्द्रीय सदस्यहरुले विचार राख्ने क्रम जारी रहेको पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।
अध्यक्ष मिश्रले राजनीतिक दस्तावेज सार्वजनिक गरेपछि पार्टीमा गतिरोध उत्पन्न भएको थियो । विवाद बढ्दै जाँदा अध्यक्ष मिश्र र संयोजक पाण्डेले छुट्टछुट्टै वैठक बोलाएका हुन् । नेपालमा संघीयता खारेज गर्नुपर्ने र धर्मनिरपेक्षतामा जनमतसंग्रह गर्नुपर्ने मिश्रको लाइनमा पाण्डे पक्ष सहमत छैन ।