फुट्यो जसपा पनि ,महन्थ ठाकुर नेतृत्वमा नयाँ पार्टी, चुनावचिह्न साइकल
काठमाडौँ : जसपाको महन्थ ठाकुर पक्ष नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेसँगै ठाकुर पक्ष निर्वाचन आयोग पुगेको हो।
यसअघि जसपाको विवादमा निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि ठाकुर पक्ष दलविहीन अवस्थामा पुगेको थियो। ठाकुर पक्षले दलको नाम ‘जनता समाजवादी पार्टी नेपाल लोकतान्त्रिक’ राख्ने भएको छ।
नेकपा एमालेको माधव कुमार नेपाल पक्ष र जसपाको ठाकुर पक्षलाई लक्षित गरी सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको हो। यसअघि पार्टी विभाजनमा लागि केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत पुग्नुपर्ने व्यवस्था भएकोमा अध्यादेशमा केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत भए पुग्ने व्यवस्था गरिएको छ।
नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका नेता राजेन्द्र महतोले जसपाका १६ जना कार्यकारिणी सदस्य र १५ जना सांसदसहित नयाँ दर्ता गर्न लागेको बताए। जसपा लोकतान्त्रिकको केन्द्रीय कार्यकारिणी सदस्य संख्या २४ रहने उनले जानकारी दिए।
यसअघि जसपाको विवादमा तटस्थ बसेका रेशम चौधरी आफ्नो पक्षमा आएको महतोले बताए। नयाँ पार्टीको चुनाव चिह्न साइकल माग गरेको उनले जानकारी दिए।