बागमती प्रदेश एमाले संसदीय दलको नेतामा शाक्य
हेटौँडा : बागमती प्रदेशको नेकपा एमाले संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन भएकी छिन । एमाले उपाध्यक्षसमेत रहेकी शाक्यलाई एमाले बागमती प्रदेश संसदीय दलको बुधबार प्रदेश सभा सचिवालयमा बसेको बैठकले सर्मसम्मच चयन गरेको हो ।
प्रदेशका मुख्यमन्त्री एवं संसदीय दलका नेता डोरमणि पौडेलले शाक्यलाई संसदीय दलको नेतामा प्रस्ताव गरेका थिए । शाक्य संसदीय दलको नेतामा चयन भएसँगै मुख्यमन्त्री बन्न बाटो खुलेको छ ।
११० जना प्रदेश सभा सदस्य रहेको बागमती प्रदेश सभामा एमाले एक्लैको ५६ जना प्रदेश सभाका सदस्य रहेका छन् । यसअघि २०७४ साल माघमा संसदीय दलको नेताको लागि भएको निर्वाचनमा नेता शाक्य मुख्यमन्त्री पौडेलसँग पराजित भएकी थिइन ।
संसदीय दलको बैठकमा पार्टीलाई एकता बनाइ राख्ने उद्देश्यले मुख्यमन्त्री पौडेलले संसदीय दलको नेतामा शाक्यलाई प्रस्ताव गरेको प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले जानकारी दिए ।