धमाधम खुल्न थाले विद्यालय

दैलेख : कोरोना संङक्रमणको जोखिमका विच जिल्लामा सामुदायिक र सस्थागत विद्यालय धमाधम विद्यालय सञ्चालन गरी पठनपाठन सुरु गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरु सञ्चालनमा आउन थाले संगै बालबालिकाहरु समेत उत्साही बनेर विद्यालय जान थालेका छन । जिल्लाको नारायण नगरपालिकाले भने यस अघि पठनपाठन सुरु गरिसकेको छ । नगरपालिकाले साउन २२ गतेदेखि नै सामुदायिक तथा नीजि विद्यालय सञ्चालनमा ल्याएको हो ।
नारायण नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख हिमालयजंग शाहले सरकारले असार मसान्त बाट नयाँ शैक्षिक सत्र सुरु गरे देखि विद्यालय बन्द भएको अवस्थामा जिल्लाको दुईवटा सामुदायिक रेडियोहरु रेडियो ध्रुवतारा र रेडियो ज्वालाबाट नगर रेडियो शिक्षा कार्यक्रम संचालन गरिरहेको बताए । उनले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिएको बताए । उनले भने लामो समयदेखि बन्द रहेका नगरपालिकाभित्रका ३८ वटा सामुदायिक विद्यालयमा पठनपाठन सुरु गरिएको छ ।
नारायण नगरपालिका ७ मा रहेको बसन्त माद्यामिक विद्यालयका प्रधानाध्यापक धर्मराज खड्काले नारायण नगरपालिकाले विद्यालयमा स्वास्थ्य मापदण्ड अपानाउँन प्रत्येक विद्यार्थी दुई सयका दरले रकम विद्यालयमा पठाए संगै विद्यालय संचालन गरेको बताए । उनले विद्यार्थीहरुलाई स्वास्थ्य सामग्रीहरु मास्क सेनीटाइजर व्यवस्थापन गरी एक बेन्चमा दुई जना विद्यार्थी राखेर अध्यापन गराईरहेको बताए ।
जिल्लाका अन्य स्थानीय तहले समेत विद्यालय संचालनको तयारी गरेको जानकारी दिएका छन । जिल्लाको भगवतिमाई गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले विद्यालयहरु भदौ १ गते बाट संचालन गर्ने जानकारी दिए । उनले विद्यालयमा आवश्यक पर्ने मास्क सेनिर्टाजर गाउँपालिकाले दिएरर विद्यालय संचालन गर्ने बताए । उनले भने े हामीले विद्यालय संचालन गर्दा सामाजिक दुरी कायम राख्छौ र विद्यालय नियमित रुपमा संचालन गर्छौ ।
स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले जिल्लामा आइतबार सम्म ३ हजार ४ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको र ती मध्ये ३ हजार ४ सय ३७ जना निको भएको जानकारी दिए । उनका अनुसार हालसम्म कोरोना संक्रमणबाट २९ जनाले ज्यान गुमाइसकेका छन् भने सक्रिय संक्रमितका संख्या ३२ जना छ । हाल दैलेख अस्पतालको आइसोलेसनमा ८ जना उपचाररत छन् ।