Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

बाँड्न लिएको चामल दुई वर्षदेखि गोदाममै कुहियो

...
फोटा साभार

दैलेख  :  गत वर्ष कोरोना महामारी संगै नौमूले गाउँपालिकामा असिना परेर मकै र धान बाली नष्ट भएपछि नागरिकहरुलाई भोकमरीको चपेटामा पर्न नदिन राहत वितरण गर्न लिएको चामल दुई वर्ष देखी गोदाममै रहेको रहस्य खुलेको छ । जिल्लाको नौमुले गाउँपालिकाले असिनापीडित जनताका लागि भनेर गाउँपालिकाले खाद्य डिपो दैलेख अन्तर्गत पालिकाको रकममा लाखौँको चामल खरिद गरेको थियो । ढुवानी भाडा पालिकाले व्यहोरेको र जनतालाई सस्तोमा चामल वितरण गर्ने अभियानअन्तर्गत लगिएको चामलमध्ये बचेको चामल कुहिएपछि स्थानीय प्रशासन र प्रहरीको रोहवरमा एक सय ५५ बोरा चामल गाडिएको छ ।

दुई वर्षदेखि गोदाममै थन्किएपछि एक सय ५५ बोरा चामल कामै नलाग्ने अवस्थामा पुगेको थियो । स्थानीयले खबरदारी गरेपछि गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरीको रोहवरमा चामल गाडिएको छ । तत्कालीन समयमा नौमूले गाउँपालिकामा असिना परेर मकै र धान बाली नष्ट भयो, स्थानीयहरू भोकमरीको चपेटामा पर्न सक्ने अवस्था आएपछि दुई वर्ष अघिदेखि पालिकाले जनता बचाउने अभियानअन्तर्गत सस्तो मूल्यमा चामल खरिद गरेर पालिकाका जनतालाई वितरण अभियान थालेको भएपनि ५५ बोरो चामल भने गोदाममै कुहिएको अवस्थामा फेला परेको हो ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र शाहीले आफूले कार्यालय प्रमुखको जिम्मेवारी पाउनुभन्दा करिब दुई वर्षअघिको विषय भएको बताउँदै बिग्रेको चामललाई मुचुल्का उठाएर विसर्जन गरिएको बताए । उनले पालिकामा विभिन्न खाले समस्याहरू, कोभिड समस्या निरन्तर रहिरहेकोले अति आवश्यकता परेको वेलामा चाहिने होला भन्दै पालिकाले स्टक राखेको हो धेरै समय गोदाममै रहेपछि बिग्रेको बताए ।

दुई वर्षसम्म जनतालाई चामल वितरण नगरेर राखिनुमा पालिकाको कमजोरी भएको स्थानीयको आरोप लगाएका छन । जनताको करको रकमबाट आएको पैसा हो । गरिब र निमुखा जनतालाई समयमै वितरण गर्नुपर्नेमा पालिकाकै कमजोरीका कारण जनताले चामल नपाएको र लाखौँको चामल कुहिएकोप्रति स्थानीय बासिन्दाहरूले आक्रोश पोखेका छन् । जनताका लागि भनेर ल्याएको भए किन बाँडिएन कसको आदेशमा चामल राखिएको हो यो विषयमा गाउँपालिकाका अध्यक्ष र कार्यपालिका सदस्यहरूले लिनुपर्ने एक स्थानीयको भनाइ छ

गाउँपालिकाका अध्यक्ष भदे बुढा मगरले असिना पीडितदेखि कोरोना महामारीका वेला आइसोलेसन, क्वारेन्टाइनमा बसेका जनतालाई राहत स्वरुप वितरण गर्न चामल पालिकाले खरिद गरेको बताउँदै समयमै वितरण गर्न नसकेको कारण केही बोरा चामल कुहिएको स्वीकार गरेका छन । उनले भने यसमा हाम्रो कमजोरी भएको हो हामीले समयमै वितरण गर्नु पर्ने थियो गर्न सकेनौ ।