Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

विद्युतीय पासोमा परेर दाजु–भाइको मृत्यु

गोकर्ण दयाल
बैतडी  :  बँदेलका लागि थापेको विद्युतीय पासोमा परेर बैतडीमा एकैघरका दुईजना दाजुभाइको मृत्यु भएको छ । बैतडीको सुर्नया गाउँपालिका–५ स्वाली घर भएका १८ वर्षीय अमृत चन्द र उनका दाजु २१ वर्षीय सन्तोष चन्दको करेन्ट लागेर मृत्यु भएको रौलेश्वर प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक भानबहादुर चन्दले जानकारी दिए ।

बुधबार राति सवा ९ बजेतिर दुई जनाको मृत्यु भएको प्रहरीलाई जानकारी आएकोे बताइएको छ । बँदेलका लागि थापेको विद्युतीय धरापमा परेर करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए ।
घटनाका बिषयमा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट टोली खटाइएको बैतडी प्रहरीले जानकारी दिएको छ । बैतडीका पछिल्लो समय जङ्गली जनावर बँदेलले मकै बाली सखाप पार्न थालेको छ । नियम अनुसार बँदेल मार्न नपाईने भए पनि किसानले मकैबारीमा पासो थाप्ने गरेका छन् ।

ऐन कानुन अनुसार जङ्गली जनावर बँदेल मार्न नपाईने डिभिजन वन कार्यालय बैतडीका निमित्त प्रमुख श्यामसुन्दर माझीले बताए । “बँदेल मार्न पाईँदैन” माझीले भने बालीनाली सखाप पारेको हो भने वडा कार्यालय र कृषि ज्ञानकेन्द्रको सिफारिस अनुसार प्रति किसान पाँच हजार रुपियाँ क्षतिपूर्ति पाईने व्यवस्था छ ।”

बैतडीका १० वटै स्थानीय तह किसानले लगाएको मकै बाली जङ्गली जनावर बँदले, बाँदर र दुम्सीले सखाप पार्न थालेका छन् । मकै जोगाउन किसानले अवैध रुपमा थापेको पासोमा परि मानवीय क्षति जस्ता अप्रिय घटना हुन थालेका छन् ।साभार गोरखापत्र