वर्तमान सरकार जनताप्रति उत्तरदायी नभएको एमालेको आरोप
काठमाडौं : नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार जनताप्रति उत्तरदायी नभएको आरोप लगाएको छ। मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको आयोग खारेज गरेपछि एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘भूमिसम्बन्धी समस्या समाधान आयोगलाई विघटन गर्ने सरकारको निर्णयप्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) को गम्भीर ध्यानाकर्षण भएको छ।’
नेपालको संविधानले परिकल्पना गरेको आर्थिक समानता, समृद्धि र सामाजिक न्यायलाई प्रत्याभूत गर्न तथा संविधानले सुनिश्चित गरेका खाद्य सम्बन्धी हक (धारा ३६) आवासको हक (धारा ३७) दलितको हक (धारा ४०), सामाजिक न्यायको हक (धारा ४२) लगायत राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरूको कार्यान्वयन गर्न भूमिसम्बन्धी ऐन (आठौं संशोधन) को व्यवस्था अनुसार भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरिएको विज्ञप्ती उल्लेख छ।
करिब १४ महिनाको अवधिमा आयोगले मुलुकका ७४७ पालिकाहरुसँग सम्झौता गरेको विज्ञप्तीमा उल्लेख गरेका छन्। २ लाख ४७ हजार ९ सय ६० दलित र सुकुम्बासीहरू तथा ९ लाख २२ हजार ८ सय १ अव्यवस्थित बसोबासीहरुले विवरण फारम भरिसकेको समेत एमालेले उल्लेख गरेको छ।
‘तीन सय १९ भन्दाबढी पालिकाहरुमा लगत सङ्कलन पूरा भएर वर्षौंदेखि जारी यस समस्याको दिगो समाधान हुने दिशातिर अगाडि बढिरहेको बेला राजनीतिक प्रतिशोध र पूर्वाग्रहका आधारमा आयोग विघटन गर्ने सरकारको निर्णयले मुलुकका लाखौं भूमिहीन तथा सुकुम्बासीहरू, दलित तथा अव्यवस्थित बसोबासीहरुको जमिनको अधिकारसम्बन्धी मौलिक हकमाथि कुठाराघात गरेको छ।’प्रवक्ता ज्ञवालीले जारी गरेको विज्ञप्तीमा भनिएको छ।
युगान्तकारी राजनीतिक परिवर्तनको लाभ आर्थिक र सामाजिक रुपले विपन्न वर्गले पाउ नसकेमा मात्रै परिवर्तनप्रति उनीहरुको अपनत्व विकास हुनसक्ने एमालेको ठहर छ।
‘सरकारको यस निर्णयले विपन्न वर्गका अपेक्षामाथि ठूलो आँच पुर्याएको छ। वर्तमान सरकार जनताप्रति उत्तरदायी छैन र यसले जनताको हित गर्दैन भन्ने कुरालाई यस निर्णयले पुष्टि गरेको छ’ विज्ञप्तीमा लेखिएको छ, ‘एमाले जनताको अपेक्षा र अधिकारमाथि प्रहार गर्ने सरकारको यस निर्णयको निन्दा गर्दछ र यसलाई अविलम्ब सच्याउन माग गर्दछ। भूमिहीन, सुकुम्बासी, दलित तथा अव्यवस्थित बसोबासीहरूका हक र हितप्रति हाम्रो पार्टी सधैंभरि सजग र संवेदनशील रहेको छ। साभार