Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल

काठमाडौं  :  प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा शनिबार भेटवार्ता भएको छ । सरकार विस्तार तथा जनताको दैनन्दिन समस्या समाधानका विषयमा केन्द्रित भएर छलफल भएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

प्रधानमन्त्री देउवाले गत असार २९ गते पद तथा गोपनीयताको शपथ लिएका थिए । शपथ लिएको १९ दिन बितिसक्दा समेत मन्त्रिपरिषद विस्तार हुन नसक्दा बाहिर आलोचना भइरहेको भन्दै अध्यक्ष प्रचण्डले चाँडै मन्त्रिपरिषद विस्तारबारे भेटमा जोड दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी, नेपाल (जसपा)बीच सत्ता समिकरणमा मन्त्रालयको भागबण्डा लागिनसकेको अवस्थामा कसलाई कुन मन्त्रालय जिम्मेवारी दिने भन्ने विषयमा अझै टुङ्गो लाग्न बाँकी रहेको सत्तारुढ दलका नेताहरुको भनाइ छ । मन्त्रीपरिषद विस्तारको गृहकार्य तीव्ररुपमा भएकाले आउने सोमबार वा मंगलबारसम्म विस्तार हुनसक्ने स्वकीय सचिव देउवाले बताए ।

अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री देउवालाई भेटन विहान बालुवाटार आएका थिए । करिब पौने घण्टा लामो छलफलमा दुवै नेताबीच मन्त्रिपरिषद विस्तारको विषय सँगसँगै जनताका दैनन्दिन समस्या सम्बोधनका विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।