Loading... आजः बिहिबार, बैशाख ६, २०८१
Trending

कर्णालीमा मनसुनका कारण साढे ३५ हजार जनसंख्या प्रभावित हुनसक्ने

सुर्खेत  :  कर्णाली प्रदेशमा मनसुनका कारण ३५ हजार ५५९ जनसंख्या प्रभावित हुनसक्ने अनुमान गरिएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार सबैभन्दा धेरै सुर्खेतमा बाढीबाट २४ हजार ४८६ बराबर जनसंख्या प्रभावित हुन सक्ने अनुमान छ ।

मन्त्रालयको विपद शाखाका प्रमुख तथा सूचना अधिकारी कृष्ण रोकायाका अनुसार सल्यानमा २ हजार ५२३, रुकुम पश्चिममा २ हजार १४९, दैलेखमा २ हजार ५४, जाजरकोटमा १ हजार ५९१, जुम्ला १ हजार ३१२, कालिकोटमा ५५०, डोल्पा ४४३, मुगुमा ३३३ र हुम्लामा ११८ बराबरको जनसंख्या मनसुनका कारण प्रभावित हुन सक्ने देखिन्छ ।

कर्णालीका सुर्खेतमा बाढी र अन्य पहाडी तथा हिमाली जिल्लाहरुमा पहिरोको जोखिम छ । यो वर्ष जेठ महिना देखिनै मनसुन सुरु भएको थियो । प्रदेश सरकारले विपत प्रतिकार्यका लागि पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गर्न लागिएको रोकायाले रातोपाटीलाई बताए।

‘प्रदेश सरकारले प्राकृतिक विपद् प्रतिकार्यका लागि भन्दै यसअघि १० करोड भन्दा बढीको बजेट विनियोजन गरिसकेको अवस्था छ । अब, मनसुन लगातार सक्रिय भएपछि बाढी र पहिरो आउन सक्ने स्थानहरुमा पहिलानै के–के गर्ने भन्ने बारेमा योजना तयार हुँदैछ,’ उनले भने ।

कर्णालीमा बाढी, पहिरो, डुबान, चट्याङ, महामारी जस्ता प्रकोपबाट ठुलो धनजनको क्षती हुने गरेको छ। आर्थिक बर्ष २०७८÷७९ को जेठ मसान्तसम्म कर्णालीमा विभिन्न प्रकोपबाट ७९ जनाको मृत्यु भएको छ भने १०२ जना घाइते भएका छन् ।

जेठ मसान्तसम्मको तथ्याङ्क हेर्ने हो विभिन्न प्राकृतिक प्रकोपका कारण जाजरकोटमा सबैभन्दा धेरै १४ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । यस्तै गत आवमा कालिकोटमा बाढीपहिरोबाट २ जनाको मृत्यु भएको छ भने १४ घाइते भएका छन्। जुम्लामा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

डोल्पामा पाँच जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएको तथ्याङ्क मन्त्रालयसँग छ ।

दैलेखमा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । रुकुम पश्चिममा ९ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । सल्यानमा ४ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन् ।

सुर्खेतमा ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । मन्त्रालयका अनुसार हिमाली जिल्ला हुम्लामा पहिरोबाट १ जना घाइते भएका छन् भने कुनै पनि व्यक्तिको मृत्यु भएको छैन् । मुगुमा मृत्यु र घाइते हुनेको संख्या शून्यमा छ ।

यस्तै एक हजार ५० घरधुरीमा क्षती भएको छ भने ३१ करोड ८२ लाख ४५ हजार ८१९ बराबरको धनजनको क्षती भएको छ । साभार रातोपाटी