Loading... आजः बिहिबार, मंसिर १३, २०८१
Trending

घट्नाको छानविन गर्न सहायक प्रजिअको नेतृत्वमा समिति गठन

नेपालगञ्ज  :  भेरी अस्पतपालका चिकित्सक र नर्समाथि बिहीबार राति भएको सांघातिक आक्रमणको छानविन गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानविन समिति गठन गरिएको छ । घट्नामा संलग्न दोषीहरुलाई कडा कारवाहीको माग चौतर्फी रुपमा उठेपछि घट्नाको छानविन गरेर दोषीलाई कारवाही गर्न सहायक प्रजिअ शंकर बहादुर विष्टको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।

उनले घट्नामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरिसकिएको जनाउँदै घट्नाको विस्तृत रुपमा छानविन गर्न समिति पनि गठन गरिएको बताए ।
छानविन समितिमा चिकित्सक संघ, नर्सिङ संघ, अस्पताल प्रशासन र जिल्ला सरकारी वकिलको कार्यालयका प्रतिनिधि समेतलाई राखिएको प्रजिअ गेलालले बताए ।
समितिमा चिकित्सक संघको तर्फबाट अध्यक्ष डा विनोद कर्ण, अस्पताल व्यवस्थापन समितिको तर्फबाट विकास समितका सदसय कृष्णप्रसाद श्रेष्ठ, नर्सिङ एसोसिएसनको तर्फबाट लक्ष्मी ओली सहित जिल्ला सरकारी वकिलको कार्यालयका प्रतिनिधि र अस्पतालका एक चिकित्सक रहेका छन् ।

छानविन समितिका संयोजक सहायक प्रजिअ विष्टले समितिले आफ्नो काम शुरु गरिसकेको जनाउँदै तीन दिनभित्र घटनाको सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन बुझाउने बताउनुभयो ।
यसैविच बाँकेका स्वास्थ्यकर्मीहरुका १४ वटा संघसंस्थाले संयुक्त विज्ञप्ती निकालेर घट्नामा संलग्नलाई कडा कारवाही र स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टी गर्न सम्बन्धित निकायसंग माग गरेका छन् । माग पुरा नभए जिल्ला भरिकै स्वास्थ्य संस्थाहरु बन्द गर्ने चेतावनी दिंदै त्यसपछिको अवस्थाको जिम्मेवार सम्बन्धित निकायनै हुने पनि विज्ञप्तीमा जनाईएको छ ।

बिहीबार राती दांग तुलसीपुरका कोरोना संक्रमित डिल्ली रावतको उपचारका क्रममा भेरी अस्पतालमा निधन भएपछि उनका आफन्तहरुले अस्पतालमा तोडफोड गर्नुका साथै नर्स र चिकित्सकमाथि सांघातिक आक्रमण गरेका थिए । घटनामा संलग्न रहेको आरोपमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई प्रहरीले पक्राउ गरिसकेको छ ।