‘रेम्डेसिभिर’ ३२ हजार डोज आइपुग्यो
काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको उपचारका लागि प्रयोग हुने औषधि ‘रेम्डेसिभिर’ बङ्गलादेशबाट थप ३२ हजार डोज नेपाल आइपुगेको छ । औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले मंगलबार बेलुका थप ३२ हजार डोज औषधि हिजो नेपाल आइपुगेको जानकारी दिए ।
यसैबीच स्वास्थ्य मन्त्रालयले रिम्डेसिभिर चिकित्सकले तोकेको आधारमा सम्बिन्धत वितरकबाट सिधै खरिद गर्न । प्रतिडोज चारहजार नौसय रूपियाँ मात्र तिर्न सूचना मार्फत आग्रह गरेको छ । पछिल्लो समय नेपालमा कोभिडका बिरामीको सङ्ख्या बढ्दै गएपछि ‘रेम्डेसिभिर’ औषधिको माग पनि बढ्दै गएको र सो माग अनुसार विभागले बंगलादेशबाट एक लाख २५ हजार औषधि ल्याउन अनुमति दिएको सूचना अधिकारी केसीले बताए ।
एक लाख २५ हजारमध्ये अहिलेसम्म पटक–पटक गरी २२ हजार, सात हजार र ३२ हजार डोज औषधि नेपाल आइपुगेर र बाँकी आउने क्रममा रहेको उनले बताए ।