भयावह बन्दै कोरोना सङक्रमण,मृतक संख्या १३ पुग्यो
दैलेख : दैलेख जिल्लामा कारोना सङक्रमण भयावह बन्द गएको छ । सोमवार दैलेखमा कोरोनाबाट थप एकजना बिरामीको मृत्यु भएको छ । नौमूले गाउँपालिका–८ चौराठाका ४८ वर्षीया महिलाको सोमबार बिहान मृत्यु भएको दैलेख अस्पतालले जानकारी दिएको छ । अस्पतालका डा सुशिला कटुवालले दैलेख अस्पतालको आइसोलेनमा उपचाररत ती महिलाको उपचारकै क्रममा मृत्यु भएको जानकारी दिईन । उनले आइसोलेसन अस्पतालमा भर्ना भएदेखि नै उहाँको स्वास्थ्य अवस्था गम्भीर थियो,’ हामीले उपचारका विभिन्न उपाए अपनाउँदा पनि बचाउन सकेनौँ ।
योसँगै पछिल्लो चरण जिल्लामा नयाँ भेरिएन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । अघिल्लो वर्ष कोरोना संक्रमणका कारण ६ जनाको निधन भएको थियो । अघिल्लो वर्ष ६ जना र हालै ७ जनाको मृत्युभएसँगै दैलेखमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । आइतबार मात्रै नारायण नगरपालिका–८ का ७० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । त्यसअघि नारायण नगरपालिका–१ पुरानो बजारका ७५ वर्षीय पुरुष, नारायण नगरपालिका–६ की २७ वर्षीया गर्भवती , दुल्लु नगरपालिका–१२ लम्सुका ३५ वर्षीय पुरुष, भैरबी गाउँपालिका–४ भैरीकालिकाथुमका ४५ वर्षीय पुरुष, नारायण नगरपालिका–८ का ५२ वर्षीय पुरुषको मृत्यु भएको थियो । दैलेखमा पहिलो पटक २०७७ जेठ ५ गते आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय युवकलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो ।
स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले दैलेखमा हालसम्म एक हजार ९ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनले ती मध्ये एक हजार पाँच सय ७१ जना निको भइसकेको २८ जना दैलेख अस्पतालको आइसोलेसनमा उपचाररत छन् भने तीन सय ४१ जना संक्रमति होम आइसोलेसनमा रहेको बताए । ।
पछिल्लो डेढ सातायता दैलेखमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दिनानुदिन बढ्दै गएको छ । दैनिक नयाँ सक्रमित थपिने क्रम जारी छ । मृत्युदर पनि बढिरहेको छ । जिल्लामा संक्रमणको दर बढ्न थालेपछि दैलेखमा वैशाख २१ गते मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी जारी गरिएको निषेधाज्ञा जारी नै छ । जिल्ला प्रशासन कार्यालय दैलेखले एक सताका लागि जारी गरेको निषेधाज्ञा वैशाख २८ गते राति १२ गते सकिदैछ ।
स्वास्थ्य सेवा व्यवस्थापक रेग्मीले कोरोना लागेको संङक्रमित घरमा बस्नुको सट्टा बजारमा डुल्ने गरेका कारण दैलेखमा कोरोना भयावह अवस्थामा पुगेको बताए । उनले कोरोना देखिएको ब्यक्ति घरमा नबसेर चोकमा गएर सबै संग कुरा गर्ने जस्ता कार्यले समस्या जटिल भएको बताउँदै त्यस्तो कार्य नगर्न सङक्रमितलाई आग्रह गरे ।