Loading... आजः मङ्लबार, बैशाख ४, २०८१
Trending

कोहलपुर–सुर्खेत प्रसारण लाइनको अन्तिम डिजाइन तयार


सिराज खान
नेपालगञ्ज  :  कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रसारण लाइनको अन्तिम डिजाइन तयार भएको छ । झण्डै तीन महिनाको सर्वेक्षण तथा स्थलगत अध्ययनपछि आयोजनाको अन्तिम डिजाइन तयार भएको आयोजनाले जनाएको छ । निर्माणको ठेक्का लिएको ‘आरएस इन्फ्राप्रोजेक्ट प्राइभेट लिमिटेड’ले आयोजनालाई बुझाएको अन्तिम प्रतिवेदन अनुसार लाइन विस्तारका गर्दा १६० पोल र केही एंगल टावर निर्माण गरिनेछ ।

कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रसारण लाइन आयोजना प्रमुख रविकुमार चौधरीका अनुसार १६० पोलमध्ये १३० पोल सार्वजनिक तथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा परेका छन् भने बाँकी ३० पोल व्यक्तिको जग्गामा निर्माण गर्नुपर्ने देखिएकोले त्यसको लगत संकलनको काम थालिएको छ ।
उनले बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका, सुर्खेतको भेरीगंगा, लेकवेशी र वीरेन्द्रनगर नगरपालिकाभित्रका केही स्थानीयको जग्गा अधिग्रहण गर्नुपर्ने बताए ।

अतिक्रमणमा पर्ने जग्गा धनीलाई मुआब्जा वितरण गर्ने उद्देश्यले लगत संकलन थालिएको आयोजना प्रमुख चौधरीले बताए । ३० पोलमा कति व्यक्तिको जग्गा पर्छ भनेर लगत संकलन थालेको जनाउँदै उहाँले लगत संकलन सकिएपछि मुआब्जा वितरणको प्रक्रिया अगाडि बढाइने बताए । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा मुआब्जा निर्धारण समिति गठन गरिने पनि आयोजनाले जनाएको छ । मुआब्जा निर्धारण समितिको सिफारिसका आधारमा प्रभावितलाई आयोजनाले मुआब्जा वितरण गर्नेछ ।

आगामी वैशाखसम्म मुआब्जा वितरण सुरू गर्ने गरी काम थालिएको आयोजनाले जनाएको छ । १३२ केभीए लाइन विस्तार गर्दा आयोजनाले सुर्खेत, बाँके र बर्दिया जिल्लालाई समेट्छ । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी गत असार २२ गते आयोजनाले भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्राइभेट लिमिटेडसँग सम्झौता गरेको थियो । ७० करोड लागतमा ठेक्का लिएको निर्माण कम्पनीले विद्युत लाइन प्रसारणका लागि डिजाइन, निर्माण, परीक्षण, वितरण र प्लान्ट खरिदलगायतका सम्पूर्ण काम दुई वर्षभित्र गरिसक्नुपर्ने छ ।

पछिल्लो समय बर्दिया राष्ट्रिय निकुञ्जमा बाघले आतंक मच्चाएपछि कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रसारण आयोजनाको काम प्रभावित भएको छ ।
नियन्त्रणमा लिइएको बाघ पुनः खोरबाट भागेपछि आयोजनाको काम प्रभावित भएको हो । ‘बाघले मानिसलाई आक्रमण गर्न थालेपछि बर्दिया क्षेत्रमा पोल रहने स्थानको माटो परीक्षण र फाउन्डेसन निर्माणकार्य रोकिएको छ ।
हाल बर्दिया निकुञ्जबाहेकका क्षेत्रमा भने पोलहरूको माटो परीक्षण र फाउन्डेसन निर्माण भइरहेको छ । आगामी वैशाखको अन्तिमसम्म फाउन्डेसन तयार गरिसक्ने आयोजनाको लक्ष्य छ ।साभार गोरखापत्र