Loading... आजः सोमवार, अशोज २१, २०८१
Trending

मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश

मोरङ :  प्रदेश १ प्रदेश सभामा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ। प्रदेश सभाको सातौँ अधिवेशनको तेस्रो बैठकका क्रममा आइतबार नेकपा दाहाल–नेपाल पक्षधरका प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री इन्द्रबहादुर आङबोले प्रस्ताव पेश गरेका हुन्।

प्रदेश सभामा नेकपाका दाहाल–नेपाल पक्षले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै प्रदेश सभाको कार्यसूचीमा रहेको थियो।
बैठक सुरु भएसँगै सभामुख प्रदीपकुमार भण्डारीले इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव पेश गर्न अनुमति दिएका थिए। आङ्बोले प्रदेश सभाको नियामवली २०७४ को नियम १२९ उपनियम ४ बमोजिम संसदमा अविश्वास प्रस्ताव पेश गरेको जानकारी दिए।

प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई बचाउ गर्दै आएका मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको आङ्बोले बताए। संसदलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य आङ्बोले प्रधानमन्त्री ओलीलाई पुस ५ गतेको कदमले निरंकुश, तानाशाह र सर्वसत्तावादको बाटोतर्फ धकेलिएको बताएका थिए। आङ्बोले नेकपाभित्रको विवादका कारण कानूनी रुपमा बाहेक नेकपा विभाजित भइसकेको बताए।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै पौष १२ गते नेकपाको दाहाल–नेपाल पक्षधरबाट ३७ जना प्रदेश सभा सदस्यले पौष १२ मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। सभामुख भण्डारीले प्रदेश सभाको अर्को बैठक ११ दिनपछि फागुन २० गते बस्ने गरी स्थगित गरिएको घोषणा गरेका छन्।साभार