दरखास्त आह्वान गरेको चार महिना पछि महावु अस्पतालले पायो डाक्टर
दैलेख : चिकित्सक माग गरेको चार महिना पछि महावु गाउँपालिकामा रहेको कोभिड अस्पतालले डाक्टर पाएको छ । गाउँपालिकाले (कोभिड–१९)अस्थायी अस्पताल तथा १० शैयाको अस्पताल संचालन गर्न गत कात्तिक १८ गते एक जना चिकित्सक सहित तीन जनाको दरखास्त आह्वान गरेको थियो ।
गाउँपालिकाले करार नियुक्ती गर्ने गरि एक जना मेडिकल अधिकृत आठौ तह,स्टाफ नर्स साहायक पाँचौ तह,हेल्थ असिस्टेन्ट पाँचौ तह गरी तीन जनाको दरखास्त आह्वान गरेको भएपनि दुई पटक सुचना प्रकाशित गर्दा समेत मेडिकल अधिकृत पदामा दरखास्त नपरेपछि अस्पताल संचालन गर्न समस्या भएको समाचार प्रकाशन भए संगै अस्पतालले चिकित्सक पाएको हो ।गाउँपालिकाले सञ्चालन गरेको महावु अस्पतालका लागि वीरेन्द्रनगरबाट एमबीबीएस डाक्टर शिशिर गिरी जानु भएको छ ।
प्रदेश अस्पताल सुर्खेतका डाक्टर नवराज केसीले कोभिड अस्पतालमा डाक्टर नपाएको समाचार प्रकाशन भएपछि गाउँपालिकामै पुगेर टेलिमेडिसियनका माध्यमबाट नागरिकले प्रदेश अस्पताल सुर्खेतमा पाउने विशेषज्ञ सेवा दिन पहल गरेका थिए । उनकै पहलमा गाउँपालिकाले डाक्टर पाएको गाउँपालिकाले जानकारी दिएको छ ।
गाउँपालिकाका अध्यक्ष जंग बहादुर शाहीले हामीले बारम्बार डाक्टरको माग गर्दा पनि पाउन सकेका थिएनौं तर सबै पक्षको सहयोगका कारण एमबीबीएस डाक्टर पाएका छौं अब यहाँका नागरिकलाई घरआँगनमै स्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने अवसर आएको छ । यसलाई हामी सकेसम्म प्रयोग गर्ने र यहाँका बढीभन्दा बढी नागरिकलाई सेवा प्रदान गर्ने गरी अघि बढ्छौं । उनले भने गाउँपालिकाका नागरिकले उपचार नै नपाई मर्ने दिन सकिएको बताए ।
उनले गाउँपालिकाले डाक्टर नपाइरहेको बेला टेलिमेडिसियन सेवा सुचारु गरि विशेषज्ञ सेवा उपलब्ध गराउन सहयोग गर्ने डाक्टर नवराज केसीलाई धन्यबाद दिए । उनले भने हामीले डाक्टर पाएका छौ अव अन्य बिशेषज्ञ सेवा लिनका लागि टेलिमेडिसियन सेवालाई पनि निरन्तरता दिने काम गर्छौ ।
कोभिड अस्पताल संचालन गर्न गाउँपालिका पुग्नु भएका डाक्टर शिशिर गीरीले आफ्नो क्षमताले भ्याए सम्मको सेवा दिने बताएका छन । उनले मैले गाउँपालिकामा बस्दा जुन सुकै समयमा पनि सेवा दिन्छु र जनताको सेवालाई पहिलो प्रथामिकतामा राखेर गाउँपालिकाको समन्वयमा विभिन्न बिशेषज्ञ शिविर गाउँमै संचालन गर्न पहलन गर्ने बताए । कोरोना महामारीको संक्रमण तिब्र रुपमा बढेपछि प्रदेश सभा सांसद अम्मर बहादुर थापाको निर्वाचन क्षेत्र विकास कार्यक्रम मार्फत ५२ लाख रुपिँया बिनियोजन गरी अस्पताल निर्माण गरिए संगै अस्पताल संचालन गर्न गाउँपालिकालाई सहज भएको थियो ।