प्रजातन्त्र दिवसमा दैलेख सदरमुकामा रक्तदान
दैलेख : ७१ औँ प्रजातन्त्र दिवसको अवसरमा रक्तदान गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) जिल्ला कमिटि दैलेखले शुक्रवार दैलेखमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । जिल्ला सदरमुकाम दैलेख बजारको स्थानीय देवकोटा चोकमा आयोजित रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) केन्द्रिय सचिवालय सदस्य नविन योगीले रक्तदान कार्यक्रम मार्फत बिरामीलाई आवश्यक रगत जुनसुकै समयमा पनि सहजै उपलब्ध गराउने जिम्मेवार निकायहरु स्वास्थ्य सेवा कार्यालय, नेपाल रेडक्रस सोसाइटी, स्थानीय तहलाई दैलेखमै ब्लड बैंक स्थापनाका लागि खबरदारी लागि रक्तदान कार्यक्रम संचालन गरेको बताए । उनले रक्तदानमा १८ पिन्ट रगत संकलन भएको जानकारी दिनुभयो ।
पहाडी जिल्ला दैलेखमा रक्त सञ्चार केन्द्र (ब्लड बैंक) नहुँदा बिरामीले समस्या भोग्नु परेको बताउँदै उनले जटिल प्रकारका बिरामीको अप्रेसन गर्दा तत्काल क्लड आवश्यक पर्ने भएपनि अहिले सम्म ब्लड बैक नहुनु दुखद भएको बताए । उनले भने आवश्यक रगत बिरामीका आफन्तले खोजेर ल्याएपछि मात्र अस्पतालले जटिल उपचार गर्ने गरेको छ ।
बिरामीले तत्काल रगत नपाउने र समूह नमिल्नाले बिरामीको उपचारमा समस्या हुने गरेको छ । गाउँबाट उपचारमा आएका कतिपय बिरामीको तत्कालै शल्यक्रिया गर्नुपर्ने भए पनि समयमा रगत उपलब्ध नहुँदा ज्यान जोखिममा पर्ने गरेको छ । गर्भवती, गम्भीर दुर्घटनाका घाइते रगत अभावले बढी जोखिममा पर्दै आइरहेका छन् । जिल्लामा रक्तदान कार्यक्रमको आयोजना गरे पनि भण्डारका लागि संकलित सबै रगत सुर्खेतमा पठाउनुपर्ने बाध्यता छ ।