Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

मुअव्जा विवादले धावन मार्ग विस्तार अन्योलमा


सुर्खेत  :  विमानस्थल धावन मार्ग विस्तारको काममा वीरेन्द्रनगर नगरपालिका विपक्षमा उभिएपछि अन्योलमा परेको छ । धावन मार्ग विस्तार गर्ने क्रममा नगरपालिकाको वडा नं १० र १२ का एक हजार घरको उठिबास हुने भन्दै वडावासी विरोधमा उत्रिएपछि नगरपालिका पनि उनीहरूलाई साथ दिएर विपक्षमा उभिएको हो ।
माघ २ र ३ गते बसेको नगरपालिकाको कार्यपालिका बैठकले विमानस्थल विस्तार गर्न नसकिने निर्णय गरेको छ । कार्यपालिकाको निर्णयअनुसार प्रदेश र सङ्घीय सरकारलाई विमानस्थल विस्तारको विकल्प खोज्न आग्रह गरिएको छ । नगरपालिकाले कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र केन्द्र सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालाई पत्र नै पठाएर विमानस्थल विस्तारको विकल्प खोज्न अनुरोध गरेको छ । नगरपालिका नै विमानस्थल विस्तारको विपक्षमा उभिएपछि सुर्खेत विमानस्थल विस्तार अन्योलमा परेको छ ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले प्रभावित क्षेत्रका स्थानीयको मागअनुसार नै विमानस्थल विस्तारको विकल्प खोज्नुपर्ने निर्णय गरेको बताए उनले स्थानीयवासीको माग नगरपालिकाले बोलेको जानकारी दिए ।
स्थानीयवासीको मागलाई साथ दिँदा प्रदेश र सङ्घ सरकारको योजनाको विरोध नगरेको तर विमानस्थल विस्तारको विकल्प खोज्नुपर्ने मागअनुसार नै सङ्घ र प्रदेश सरकारलाई विमानस्थल विस्तारको विकल्प आग्रह गरिएको उनले बताए ।
वीरेन्द्रनगर नगरपालिका विमानस्थल विस्तारको विपक्षमा उभिएपछि कर्णाली प्रदेश सरकारले पनि विकल्पबारे छलफल चलाउने तयारी गरेको छ । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले प्रदेशको आवश्यकता अनुसार सङ्घ सरकारसँग मिलेर धावन मार्ग विस्तारको योजना ल्याएको बताउँदै प्रभावित तथा नगरपालिका विपक्षमा उभिएपछि अन्य विकल्पबारे छलफल चलाउने बताइन । उनले हालको विमानस्थल विस्तार गर्न उपयुक्त नभएको खण्डमा विकल्पको खोजी गरिने जानकारी दिइन ।
प्रभावित क्षेत्रका स्थानीयवासीले भने सुरुवातदेखि नै सुर्खेत विमानस्थल विस्तार हुन नदिने चेतावनी दिँदै आएका छन् । धावन मार्ग प्रभावित सङ्घर्ष समितिका संयोजक टीकाराम आचार्यले विमानस्थल विस्तार गर्दा वीरेन्द्रनगर नगरपालिका वडा नं १० र १२ का झन्डै एक हजार घरधुरीको उठिबास हुने र प्राविधिक दृष्टिले दीर्घकालीन पनि नहुने हुँदा आफूहरूले अन्य ठाउँमा विकल्प खोज्न आग्रह गरेको बताए ।
स्थानीयवासीका अवरोधका कारण हाल लगत सङ्कलन कार्य रोकिएको छ । सुर्खेत नागरिक उड्डयन प्राधिकरणका प्रमुख उमेशकुमार पन्थीले सुरुमै स्थानीयवासीले अवरोध गरेपछि विमानस्थल विस्तारको जग्गाको लगत लिने काम रोकिएको बताए । सुर्खेत विमानस्थलको धावन मार्ग विस्तारका लागि कर्णाली प्रदेशले ५० करोड र सङ्घीय सरकारले ५१ करोड बजेट छुट्याएका छन् । साभार गोरखापत्र