Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन कष्टकर

कर्णाली व्युरो  :  शुक्रबार मौसममा आएको बदलीसँगै कर्णालीका हिमाली तथा मध्यपहाड क्षेत्रका विभिन्न स्थानमा हिमपात भएको छ । बिहीबार रातिदेखि हिमपात शुरु भएकाले जनजीवन कष्टकर बनेको छ । कर्णालीका हुम्ला, जुम्ला, मुगु, डोल्पा लगायतका जिल्लामा उच्च हिमपात भएको हो । त्यस्तै दैलेख, कालिकोट लगायतका मध्य क्षेत्रका उच्च भू–भागहरुमा पनि हिमपातसँगै चिसो बढेको छ । यस पटकको हिमपात यो वर्षकै धेरै भएको आङ्कलन गरिएको छ । यद्यपि, यसअघि पनि एक दुईपटक हिमपात भएको थियो ।

हिमपातले हिमाली जिल्लाहरुको तापक्रम माइनस डिग्रीमा झरेको छ । हुम्लाको उत्तरी भेगमा एक इन्च हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । विशेषगरी हुम्लाका खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका क्षेत्र बाक्लो हिउँ जमेर सेताम्य भएका छन् । यस्तै छायानाथ रारा नगरपालिका, मुगुम कार्मारोङ्ग गाउँपालिकामा अत्यधिक हिमपात भएको र अन्य क्षेत्रहरुमा पनि हिउँ परेको सम्बन्धित स्थानीय तहहरुले जानकारी दिएका छन् । हिमपातका कारण सिमकोट क्षेत्र आसपासका विद्यार्थीहरुलाई विद्यालय जान समेत समस्या भएको छ ।

त्यस्तै सरकारी तथा गैरसरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई पनि हिमपातका कारण समस्या भएको छ भने सेवाग्राहीहरु प्रभावित बनेका छन् । यस्तै हिमाली जिल्ला डोल्पाका उच्च हिमाली भेगहरुमा पनि हिमपात भएको ठुलोभेरी नगरपालिकाका नगरप्रमुख गणेशबहादुर शाहीले बताए । उनले भने, ‘लेकाली क्षेत्रहरुमा धेरै हिउँ परेको छ, अलि बस्ती क्षेत्रमा अलिकति मात्र हिउँ परेको छ ।’ ‘जनजीवन कष्टकर बनेपनि हिउँ पर्दा हामी खुसी नै छौँ,’ उनले भने । यस्तै जुम्लामा यो वर्ष पहिलोपटक हिमपात भएको छ । हिमपात भएको जमिनमा चिस्यान रह्यो भने खेतीपाती निकै राम्रो हुने गरेको जुम्लाका स्थानीय प्रतिनिधिहरुले बताएका छन् ।

हिमपातका कारण हिमाली जिल्लाको एकमात्र यातायातको साधन हवाई यात्रा अवरुद्ध हुन पुगेको छ । शुक्रबार बिहानदेखि अन्तर हुम्लादेखि जिल्ला जोड्ने एक मात्रै हवाई यातायत अवरुद्ध भएको हो । विहान विमानस्थलको धावनमार्गमा जमेको बाक्लो हिउँ दिउँसो गाडीले पन्छाए पनि निरन्तर हिमपात र हावाहुरीका कारण नेपालगञ्ज–सुर्खेतबाट उडान हुन नसकेको सिमकोट विमानस्थललले जानकारी दिएको छ ।

विकट हुम्लाको अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई यातायत अवरुद्ध हुँदा नेपालगञ्ज र सुर्खेतबाट जिल्ला पुग्ने यात्रु अलपत्रमा परेका छन् भने हुम्लाबाट जिल्ला बाहिर जाने यात्रु समेत सिमकोटमै रोकिएका छन् । यस्तै उ त्तरी हिल्सामा आवतजावत समेत ठप्प हुनुका साथै चिसो अत्याधिक बढेको सशस्त्र प्रहरी विओपी हिल्साले जानकारी दिएको छ