Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

नेकपा अध्यक्ष दाहालविरुद्ध अवहेलना मुद्दा

काठमाडौँ  :  नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध अदालतको अवहेलनामा सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।अधिवक्ता समीर हायूले दाहालविरुद्ध निवेदन दर्ता गराएका हुन् । निवेदनमा दाहालले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा विभिन्न सभाहरूमा बोल्नुका साथै न्यायाधीशहरूलाई लक्षित गरेर अभिव्यक्ति दिएको जनाइएको छ । दाहालविरुद्ध अवहेलना मुद्दा दर्ता भएको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए ।

प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्चको स‌ंवैधानिक इजलासमा केही दिनयता निरन्तर बहस चलिरहेको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढु‌ंगाना र चार पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी अनुपराज शर्मा कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध पनि अवहेलना मुद्दा दर्ता भएको छ ।

उनीहरूलाई आफै उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश भइसकेको छ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा चलिरहेको अवस्थामा त्यससँग सम्बन्धित अभिव्यक्ति दिएको एवं विज्ञप्ति जारी गरेको भन्दै प्रधान्यायाधीशहरूविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको हो।प्रधानमन्त्री ओलीविरुद्ध भने ९४ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई तमासे भनेको र कानुन व्यवसायीले तमासा देखाएको भनेको भन्दै अवहेलना मुद्दा दर्ता भएको हो ।