Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

सिंगापुर रेडक्रसको सिईओ भन्दै दैलेखमा करोडौ ठगी

दैलेख  :  कोरोना महामारीको बेला दैलेख पुगेर दैलेखमा एक युवतीले सिंगापुरे रेडक्रसको नाम बेचेर दुई करोडभन्दा बढी रकम ठगी गरेको खुलासा भएको छ । कोरोना संक्रमणको समयमा गत असारमा दैलेख आएकी अभियान्ता भनिने इटहरीकी २३ वर्षीया विद्या शर्माले विद्या सरकार भनेर दैलेखमा परिचय दिँदै जिल्लाका ब्यापारी संग पैसा मागेर ठगेको पाइएको हो ।

उनले जिल्लामा रहेका घरानियाँ र प्रतिष्ठित व्यापारीहरूबाट लाखौँ रकम उठाउँदै सिंगापुरबाट रकम आउँछ भन्दै २० प्रतिशत राहत सामग्री खरिद गर्दै गाउँमा पुगेर बाड्ने र अन्य रकम आफुले राख्ने गरेको बुझिएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखमा ६० लाख रकम ठगी गरेको उजुरीका आधारमा खोजी गर्दै जाँदा काठमाडौंमा रहेकी उनलाई अहिले महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ । काठमाडौंमा पनि धेरैलाई ठगी गरेको निवेदन परेकाले काठमाडौंको मुद्दा टुंगो लाग्नेबित्तिकै दैलेख झिकाउने तयारी भएको दैलेख प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रहरीका अनुसार फेसबुकमा साथी बनेर मायाप्रेमको कुरा गरेर उहाँले धेरै युवाहरूलाई फसाउँदै आएको समेत देखियो दैलेखमा पनि उनी फेसबुकमा प्रेम भएको बहानामा प्रवेश गरेकी थिइन । केही समय समाजसेवाका लागि उनले जिल्लाका केही व्यापारीहरूबाट उधारोमा सामान लिँदै गाउँमा वितरण गरेको र असारदेखि कात्तिकसम्म दैलेख बसेकी उनी अन्तिम समयमा धेरै युवायुवतीलाई सिंगापुर रेडक्रसमा काम दिलाइदिने र अमेरिकासम्म पुरÞ्याइदिने भन्दै प्रतिव्यक्ति तीन लाखसम्म असुलेको प्रहरीले जानकारी दियो । अहिलेसम्म निवेदन परेअनुसार दैलेखबाट ५ महिनाको अवधिमा दुई करोडभन्दा बढी रकम ठगी गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले उनलाई दैलेख ल्याएपछि अझै निवेदन आउने सम्भावना रहेको बतायो ।

जिल्ला आउनेबित्तिकै उनले जिल्ला प्रशासन कार्यालय दैलेख र नारायण नगरपालिकामा सिंगापुर रेडक्रसले राहत सामग्री पठाएको र वितरण गरेको बताएकी थिईन । उनले केही थान मास्क र केही थान स्यानिटाइजर निःशुल्क बाँडेर जिल्लामा रहेका गैरसरकारी संस्थासँग मिलेर स्थानीय व्यापारीबाट उधारोमा सामान लिँदै दैलेखका स्थानीय पालिकासम्म पुगेर राहत बाँड्दै तत्काल विभिन्न संरचनाहरू निर्माण गरिदिने र पालिकाले जग्गा खोज्नुपर्ने भन्दै भ्रम सिर्जना गर्ने गरेको समेत पाइएको छ ।

काठमाडौंमा महानगरीय प्रहरी परिसरमा पक्राउ परेकी विद्या शर्माले देशका अन्य विभिन्न जिल्ला र काठमाडौंमा समेत ठगी धन्दा सञ्चालन गरेको खुलेको छ । उनी पक्राउ परेसँगै विभिन्न उजुरीहरू काठमाडौंमा र अन्य जिल्लाहरूमा थपिने क्रम जारी रहेको प्रहरीले जनाएको छ । जिल्लाका एक व्यापारीले नाम नलेख्ने शर्तमा भने आफु सिंगापुर रेडक्रसको सिइओ भएको र यस्तो महामारी बेला जिल्लामा सहयोग गर्न आएको र आफ्नो उता बाट रकम आउने समय लाग्ने भएकाले पैसा दिन आग्रह गरेपछि दिइएको र अहिले अनाहकमै फसिएको बताएका छन ।