Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

विमानस्थल विस्तारका लागि अधिग्रहण जग्गाको विवरण संकलन गरिँदै


सुर्खेत  : बहुप्रतिक्षित आयोजना सुर्खेत विमानस्थल विस्तारका लागि अधिग्रहण जग्गाको विवरण संकलन शुरु गर्न लागिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले तत्काल अधिग्रहण जग्गाको विवरण संकलन गर्ने र जग्गा रोक्का गर्ने निर्णय गरेको हो ।

विमानस्थलको एप्रोज लाइट, एक हजार पाँच सय ५५ मिटर धावनमार्ग र रात्रीकालिन उडानसहितको विमानस्थल विस्तार तथा स्तरोन्नतिका लागि संघ र प्रदेश सरकारवीच यसअघि नै सम्झौता भएको थियो । सम्झौताअनुसार कामलाई तिव्रता दिन मुख्यमन्त्री शाहीको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले तत्काल प्रस्तावित जग्गा अधिग्रहण क्षेत्रको जग्गा कित्ता विवरण, क्षेत्रफल र तीन पुस्ते विवरण तयार गर्न निर्देशन दिएको हो ।

विवरण संकलनसँगै विमानस्थल विस्तारका क्रममा प्रभावित नागरिकहरुको जग्गा रोक्ने प्रक्रिया समेत अघि बढाउन बैठकले निर्देशन दिएको छ । मुल्याँकन समितिको संयोजक प्रमुख जिल्ला अधिकारी हुने भएकाले उनले नै काम अघि बढाउन मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव आनन्द सारुले जानकारी दिए ।

बैठकमा मुख्यमन्त्री शाही, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सर्वराज खडका, प्रमुख जिल्ला अधिकारी, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, उप प्रमुख मोहनमाया ढकाल ,नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदिप अधिकारी, प्रदेश सरकारका सचिवहरुको उपस्थिति थियो ।