Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

संवैधानिक परिषदको बैठक साँझ ५ बजे पुनः बस्ने


काठमाडौं  :  बिहान कोरम नपुगेपछि संवैधानिक परिषदको बैठक आजै साँझ ५ बजेका लागि बोलाइएको छ । तर साँझको बैठकमा पनि कोरम पुग्ने नपुग्नेबारे अवस्था सुनिश्चित् भइनसकेको बताइएको छ ।

प्रधानमन्त्री अध्यक्ष रहेको परिषदमा ६ सदस्य रहनुभएको छ । त्यसका लागि ५ जनाको उपस्थिति अनिवार्य मानिन्छ । तर अहिलेसम्म उपसभामुखको चयन हुनसकेको छैन । परिषदमा प्रधानमन्त्रीसहित प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिपक्षीदलका प्रमुख नेता, उपसभामुख सदस्य रहने व्यवस्था छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बिहानको बैठक स्थगित भएपछि आजै साँझ ५ बजेका लागि परिषद बैठक बोलाइएको छ । बिहान बोलाइएको परिषदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित रहनुभएपछि गणपूरक संख्या पुग्न सकेन । साँझको बैठकमा पनि उहाँ उपस्थित हुने नहुने निश्चित नभएको उहाँको सचिवालयले जनाएको छ ।

सभामुखको प्रेस संयोजक श्रीधर न्यौपानेकाअ नुसार परिषदका अध्यक्ष र सदस्यहरुबीच समन्वय अभाव रहेको र बैठकको कार्यसूचीबारे गृहकार्य नगरिएकाले सभामुख सापकोटा बिहानको बैठकमा अनुपस्थित रहनुभयो । साँझ पुनः बैठक बोलाइएको जानकारी सञ्चारमाध्यमबाट प्राप्त भए पनि आधिकारिक जानकारी नआएको उहाँले बताउनुभयो । साँझको बैठकमा पनि सभामुख सापकोटा उपस्थित हुने नहुनेबारे टुङ्गो लागिनसकेको उहाँले बताउनुभयो ।

यसअघि गत आइतबार पनि प्रधानमन्त्रीले परिषदको बैठक बोलाउनुभएको थियो । तर सो बैठकमा पनि विपक्षीदलका नेता तथा सभामुख अनुपस्थित रहनुभएपछि बैठक बस्न सकेन । संवैधानिक निकायमा रिक्त रहेको ४५ पद पूर्ति गर्न परिषद बैठक आव्हान गरिदैआएको छ ।