दुई वर्षपछि,फेरि जोडियो ‘विवेकशील साझा
काठमाडौँ : अलग भएको झण्डै दुई वर्षपछि वैकल्पिक राजनीतिक शक्ति बनाउने उद्घोषसहित ‘विवेकशील साझा’ पार्टी फेरि एकपटक जोडिएको छ । विसं २०७५ पुसमा असन्तुष्टि जनाउँदै साझा पार्टीबाट विवेकशील नेपाली दल अलग भएको थियो । बुधवार एक समारोहका बीच दोस्रो पटक पार्टी एक भएको घोषणा गरिएको हो । एकीकृत पार्टीका नेताले हिजो जानेर÷नजानेर अलग हुनु परेकोमा माफी मागेका छन् । नाम ‘विवेकशील साझा’ पार्टी राखिएको छ । अध्यक्षमा रवीन्द्र मिश्र र संयोजकमा मिलन पाण्डे हुनुहुन्छ । कार्यकारी अधिकार दुवैलाई रहने जनाइएको छ ।
दुवै दलबाट केन्द्रीय समितिमा ६५–६५ गरी १३० र सचिवालयमा १३१३ गरी २६ सदस्यीय रहने घोषणा कार्यक्रममा जानकारी दिइएको छ । केन्द्रीय समितिको पहिलो बैठकले सचिवालय सदस्य चयन गर्नेछ । पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा रहनेछ । लोगो र चुनाव चिह्न तराजु राखिएको छ । दुई महिनाभित्र सबै संरचना निर्माण गर्ने र छ महिनाभित्र एकता महाधिवेशन गर्ने समारोहमा जारी एकता घोषणापत्रमा उल्लेख छ ।
एकता महाधिवेशनसम्म पार्टीको दैनिक कार्य सञ्चालनका लागि केन्द्रीय समितिले अन्तरिम पार्टी सञ्चालन कार्यविधि बनाई सोहीअनुरुप काम कारवाही अघि बढाइने घोषणापत्रमा उल्लेख छ । दुवै पार्टीबाट तीन तीन जना रहने गरी संवाद समिति बनाइएको छ । त्यही समितिले तयार पारेको संयुक्त प्रतिवेदनले दिशानिर्देश गरेअनुसार पार्टीको कामकारवाही अघि बढ्ने छ ।