पर्यटनमन्त्री भट्टराईले गरिदिए तीन सय विपन्नको बीमा


काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना संक्रमणपछि आफूले पाएको एक लाख रुपैयाँले आफ्नो निर्वाचन क्षेत्रका विपन्न तीन सय परिवारको बीमा गरिदिएका छन् ।
पर्यटनमन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईका अनुसार भट्टराईले संक्रमण मुक्त भएपछि पाएको बीमा बापतको एक लाख रुपैयाँ आफ्नो निर्वाचन क्षेत्रका विपन्न परिवारको बीमामा खर्चिएका हुन् ।
‘ताप्लेजुङ जिल्लाका प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्रीज्यूले आफुले कोरोना बीमाबापत प्राप्त गर्नुभएको १,००,००० ताप्लेजुङ जिल्लाका ३०० जना न्यून आय भएका, विपन्न, विद्यार्थी, असहाय तथा मजदूरहरुको कोरोना बीमामा खर्च गर्नु भएको व्यहोरा जानकारी गराइन्छ’, स्वकीय सचिव गुरागाईंले विज्ञप्ति सार्वजनिक गर्दै भनेका छन् ।
यस अघि पनि भट्टराईले आफ्नो तलब भत्ताबापत प्राप्त रकमबाट स्थायी ठेगाना ताप्लेजुङ भएका १२ सय ७६ जनाको कोरोना बीमा गरिदिएका थिए । गुरागाईका अनुसार थप तीन सय जनाको बीमा गरिदिएसँगै मन्त्री भट्टराईले १५ सय ७६ जनाको कोरोना बीमा गरिदिएका छन् ।

