दुई गाउँपालिकाका न्यायिक समितिलाई प्रभावकारी बनाइदै
दैलेख : स्थानीय सरकार गठन पश्चात निर्माण भएका न्यायिक समिति प्रभावकारी हुन नसक्दा न्याय सम्पादन कमजोर भएको भन्दै न्यायिक समितिलाई प्रभावकारी बनाउन सुरु गरिएको छ ।
यूएनडीपीको साझेदारीमा सामाजिक सेवा केन्द्र (सोसेक)ले सञ्चालन गरेको शासनमा सुधारका लागि न्यायमा पहुँच परियोजनाले न्यायिक समितिलाई प्रभावकारी बनाउन सुरु गरिएको हो । परियोजनाले जिल्लाका दुई पालिका महावु र नौमुले गाउँपालिका न्यायिक समितिका पदाधिकारी गैडावाजमा अन्तर सम्न्वय बैठक गरेर न्याय सम्पादन गर्दा अवलम्बन गरिएका प्रयासका वारेमा छलफल गरिएको छ ।
उक्त कार्यक्रमा बोल्दै महावु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले न्यायिक समितिको प्रभावकारिता बढाउन कानून अधिकृतको व्यवस्था गर्नुपर्ने बताएका छन । उनले संविधानमा भएको व्यवस्था अनुसार न्यायिक समितिलाई कानून अधिकृत समेत राख्न संघीय सरकारले अवरोध गरेको बताए ।
नौमूले गाउँपालिकाका वडा नंं. ७ का वडाध्यक्ष मोतिलाल बस्नेतले स्थानीय तहमा भएका ससाना विवाद प्रहरी र अदालत आउन नपरोस् भनेर हरेक स्थानीय तहमा न्यायिक व्यवस्था गरिएको तर नयाँ अभ्यास भएको कारण व्यवस्थित गर्न अझै बाँकी रहेको बताए ।
कार्यक्रममा नौमूले गाउँपालिकाका वडा नं. १ का वडाध्यक्ष एवं न्यायिक समितिका सदस्य भवानीप्रसाद शर्माले स्थानीय तहका न्यायिक समितिको प्रभावकारिता बढाउन समितिलाई तालिम र न्यायिक काम सम्पादन गर्न कर्मचारीको व्यवस्था हुनुपर्ने सुझाव दिएका छन ।
महाबु गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक प्रेमकुमारी बुढाको अध्यक्षतामा भएको कार्यक्रममा नौमूले गाउँपालिकाका कानूनी सल्लाहकार प्रेमबहादुर थापा, महाबु गाउँपालिकाका कानूनी सल्लाहकार ललितबहादुर थापा र न्यायमा पहुँच परियोजनाका संयोजक सर्वराज जोशीले न्यायिक समितिको प्रभावकारिता विषयमा आफ्नो धारणा राखेका थिए ।