विद्यार्थीलाई निःशुल्क सिमकार्ड वितरण गर्ने निर्देशन
काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विद्यालय तहका सबै विद्यार्थीलाई तत्काल निःशुल्क सिमकार्ड वितरण गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएका छन् । सामुदायिक विद्यालयको पठनपाठन अनलाइनमार्फत सञ्चालन हुने गरी व्यवस्था मिलाउन उनले यस्तो निर्देशन दिएका हुन् ।
प्राधिकरणको कार्यालय भ्रमण गर्दै मन्त्री गुरुङले मंगलबार कोरोना महामारीका कारण शैक्षिक सत्रको पठनपाठन हुन नसकेको बताए । हरेक वडा तह र स्वास्थ्यचौकीमा पनि इन्टरनेट सेवा विस्तार गर्न ढिलाइ नगर्न उनले प्राधिकरणलाई सचेत गराए ।
देशभर अप्टिकल फाइबर बिछ्याउने (सूचना महामार्ग) कार्यलाई तोकिएको समयमा सम्पन्न गर्न आवश्यक सहजीकरण गरिने पनि मन्त्री गुरुङले प्रतिबद्धता जनाए ।