कर्णाली प्रदेशमा मन्त्रीपरिषदमा हेरफेर गर्ने तयारी
दैलेख : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज (आइतबार०)आफ्नो मन्त्रिपरिषदमा हेरफेर गर्ने तयारी गरेका छन्। त्यसका लागि उनी आइतबार बिहानदेखि आन्तरिक सल्लाह र परामर्शमा जुटेको उनी निकट स्रोतले जानकारी दिएको छ ।
मुख्यमन्त्री शाहीले पूर्वसहमति अनुसार आफूविरुद्ध अविश्वासको प्रस्ताव ‘फेल’ गराउन सहयोग गरेका माधवकुमार नेपाल समूहका सातजनामध्ये तीनजनालाई आफ्नो मन्त्रिपरिषद्मा स्थान दिने निश्चित भएको स्रोतले बतायो।
शाही नेतृत्वको मन्त्रिपरिषद्मा हाल नेपाल पक्षबाट एक जना प्रकाश ज्वाला मात्रै मन्त्री छन्। स्रोतले भन्यो, ‘पूर्वसहमति अनुसार माधव नेपाल समूहबाट बढीमा ३ जनालाई मन्त्रिपरिषद्मा स्थान दिने तयारी भएको छ। प्रकाश ज्वालालाई हटाइएको खण्डमा माधव नेपाल समूहबाट नयाँ तीनजनालाई मन्त्रिपरिषदमा स्थान दिइने छ।
प्रकाश ज्वालालाई राख्नु परेमा मन्त्रिपरिषदमा नेपाल समूहबाट दुईजना नयाँ थपिने छ। कर्णाली प्रदेशको मन्त्रिपरिषद्मा हाल ६ जना मन्त्री रहेकोमा भौतिक मन्त्रालय खाली छ। हाल २ जना ओली, १ जना नेपाल र २ जना प्रचण्ड पक्षका छन्।स्रोतका अनुसार दैलेख निर्वाचन क्षेत्र नः १ प्रदेश सभा ख बाट निर्वाचित अम्मर बहादुर थापा, करविर शाही,चन्द्रबहादुर शाहीको नाम चर्चामा आएको छ ।