Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

कोरोना संङक्रमण भए उपचार खर्च आफै व्यहोर्ने

काठमाडौँ  :  कोरोना भाइरस (कोभिड–१९) को परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने भएको छ । सरकारले आर्थिक रुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । उनीहरुले कोरोना बिमा गरेको भए परीक्षण र उपचार खर्च बिमा रकमबाट कट्टा गरिनेछ ।

‘अन्य सबै व्यक्तिको परीक्षण तथा उपचार व्यक्तिको आफ्नै खर्चमा गर्ने गराउने निर्णय भएको छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भने । उनका अनुसार यो निर्णय सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा कात्तिक २ गतेदेखि नै लागू हुनेछ ।
यस्तै अब सबै अस्पतालले कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारका लागि ५० प्रतिशत बेड अनिवार्य रुपमा छुट्याउनुपर्ने भएको छ।सरकारले यसअघि गरेको निर्णय परिवर्तन गर्दै निजी, सहकारी, सामुदायिक, मेडिकल कलेज र सबै सरकारी अस्पताललाई कोरोनाको उपचारका लागि ५० प्रतिशत बेड अनिवार्य गर्न निर्देशन दिएको हो। मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार ५० प्रतिशत बेडमा आईसीयूसमेत हुनुपर्ने छ। यसअघि सरकारले निजी, सहकारी र सामुदायिक अस्पतालले २० प्रतिशत र मेडिकल कलेजले ३३ प्रतिशत बेड छुट्याउनुपर्ने निर्णय गरेको थियो। यसलाई परिवर्तन गर्दै सरकारले नयाँ निर्णय गरेको हो।

‘अस्पताल व्यवस्थापनको अहिलेको व्यवस्था अनुसार निजी, सहकारी र सामुदायिक अस्पतालमा २० प्रतिशत र मेडिकल कलेजहरुले ३३ प्रतिशत शैय्या कोभिड–१९ का लागि छुट्याउनुपर्ने निर्णय भएकोमा सो निर्णय परिवर्तन गरी अब सबै निजी, सहकारी, सामुदायिक अस्पताल, सरकारी अस्पताल तथा मेडिक कलेजहरुलाई कम्तिमा ५० प्रतिशत सबै किसिमका शैय्या आईसीयू लगायतका पूर्वाधार कोभिड(१९ को व्यवस्थापनका लागि छुट्टाउनुपर्नै निर्णय भएको छ’, प्रवक्ता गौतमले भने।