व्यवहार परिर्वतन गर्न प्रभावकारी सचेतना जरुरी : डाक्टर पन्त
दैलेख : स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख डा. निरञ्जन पन्तले एचआईभी/एड्स संक्रमण रोकथाम र संक्रमितहरुप्रति हुने लाञ्छना, भेदभाव र हेलाँको व्यवहार हटाउन प्रभावकारी सचेतना जरुरी रहेको बताएका छन । नागार्जुन डेभलपमेण्ट कम्यूनिटी (एनडीसी)को आयोजनामा दैलेखमा आज भएको एचआईभी/एड्स भएका व्यक्तिको मानव अधिकार पैरबी सम्वन्धी छलफल कार्यक्रममा उन कुरा बताएका हुन ।
उनले रोजगारीका लगि विभिन्न देशमा पुगेका पुरुषको लापरवाहीले एचआईभी/एड्स रोग भित्रिने तर घरमा बसेको महिलाले अपहेलना बढी खेप्नु परेको बताए । संक्रमण रोकथामका लागि प्रभावित क्षेत्रमा सञ्चार सुविधा अभाव र ज्ञानको कमी रहेको बताउँदै सरोकारवाला निकायले प्रभावकारी रुपमा सचेतना जगाउन आवश्यक रहेको उनको भनाई छ । नागार्जुन डेभलपमेण्ट कम्यूनिटी (एनडीसी)का कार्यकारी निर्देशक जगदीशचन्द्र भट्टले परदेशमा रोजगारी गर्न जाँदा एचआईभी/एड्स रोग भित्रिनु देशको गरिबी कारक भएको बताए । उनले समस्या हटाउन देशमै रोजगारीका अवसर सिर्जना गर्ने तर्फ तीनै तहका सरकार लाग्नु पर्ने बताए ।
एडीसीका कार्यक्रम अनुगमन तथा मूल्यांकन व्यवस्थापक खेमराज जोशीले एचआईभी/एड्स भएका व्यक्तिहरुप्रतिको भेदभाव तथा हेयभाव सून्य पार्न संस्थाले सञ्चार माध्यमबाट सार्वजनिक सरोकारका सन्देश प्रसारण गर्ने, प्रकाशन गरिएका सूचना सामग्रीहरु वितरण र समुदायमा सचेतना कार्यक्रमहरु राखिएको बताए । उनले नागार्जुन डेभलपमेण्ट कम्यूनिटी (एनडीसी)ले एचआईभी/एड्स भएका व्यक्तिहरुप्रतिको भेदभाव तथा हेयभाव शून्य पार्न सातै प्रदेशसभाका सदस्यहरुलाई सरकारको नीति निर्माण, जनचेतना मूलक सन्देश प्रवाह लगाएका कामहरु गदै आएको बताए ।