Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

यातायात असुविधाले बगै‌चामै थन्कियो स्याउ

डोल्पा :  त्रिपुरासुन्दरी नगरपालिका–४ मा पर्ने रंगगाउँ यतिखेर स्याउले रंगिएको छ। बस्तीको चारैतिर लगाइएका स्याउका रुखमा हाँगै नुहिने गरी लटरम्म फलेका स्याउ पाकेपछि गाउँनै रंगिएको हो। स्याउ टिप्ने सिजन सुरु भएसँगै किसानहरुलाई भ्याइनभ्याई छ।

गाउँमा आधुनिक भण्डारण गृह नहुँदा बर्सेनि सयौं क्विन्टल स्याउ कुहियर जाने गरेको वडाध्यक्ष श्रीदल बुढाले बताए। स्थानीय सामग्री प्रयोग गरेर किसानले बनाएका भण्डारण घर त्यति भरपर्दो नहुने भएकाले लाखौं रुपैयाँ बराबरको स्याउ कुहियर खेर जाने उनले बताए।

२२० घरधुरी रहेको रंग गाउँका सबै किसानले व्यावसायिक स्याउ खेती गर्दै आएका छन्। एकै घरले ५० देखि ५०० बोटसम्म स्याउ रोपेका छन्। उनीहरुले परम्परागत रुपमा लगाइँदै आएको मकै, कोदो, चिनो, फापरलगायतको अन्नबालीको खेती घटाएर स्याउ खेतीमा जोड दिँदै आएका छन्।

यस्तै, सुँ, जीँउ जुफाल, डाँगीबाडा, तिप्लालगायत गाउँमा पनि स्याउको व्यवसायिक खेती हुँदै आएको छ। तर, यातायातको सुविधा नहुँदा उत्पादन गरिएको स्याउ बिक्री नभएरै खेर जाने गरेको किसानहरुको गुनासो छ। जुफाल विमानस्थलबाट जहाजमा ढुवानी गर्दा भाडाकै चौगुणा मूल्य तिर्नुपर्ने र सडक मार्गबाट लैजाँदा आधा दजर्न ठाउँमा गाडी परिवर्तन गर्नुपर्ने भएकाले स्याउ बाटोमै कुहिने गरेको उनीहरुको भनाइ छ।

जाजरकोट–डोल्पा सडकमा पुल बनेर सिधा यातायात जोडिएर गाउँसम्म मोटरबाटो पुगे स्याउले राम्रो बजार पाउने छ। स्याउ बिक्री नभएपछि गाउँका कतिपय कृषकहरुले अन्नबालीसँग समेत साटफेर गर्ने गरेका छन्। देशभर महामारीको रुपमा फैलिको कोरोना भाइरसका कारण डोल्पामा स्याउ बिक्री घटेको छ। यस सिजनमा रुकुम र जारकोटका ब्यापारीहरु स्याउ किन्न रंग गाउँमा आउने गरे पनि कोरोनाका कारण यस वर्ष कोही पनि नआएको किसान धनमान बुढाले बताए।

डोल्पामा १४ सय ८८ हेक्टर जमिनमा स्याउ लगाइएकोमा ४८६ हेक्टरका विरुवाले उत्पादन दिने कृषि विकास कार्यालयले जनाएको छ। जिल्लाभरि तीन हजार २९६ मेट्रिक टन स्याउ उत्पादन हुनुपर्ने भए पनि यस वर्ष घटेर ४०० मेट्रिक टन मात्रै उत्पादन हुने अुनमान गरिएको कार्यालयका सहायक प्राविधिक बुद्धि बुढाथोकीले बताए।