Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

सामाजिक दुरी र मास्क विनै शिक्षण सिकाई


दैलेख  : कोरोना भाइरसका कारण विद्यालय सञ्चालनमा कठिनाइ आएपछि दैलेखका स्थानीय तहले शैक्षिक सत्र खेर जान नदिन टोलमै पुगेर शिक्षण सिकाई सुरु गरे पनि सामाजिक दुरी र मास्कको प्रयोग नगरेको पाइएको छ ।

जिल्लाका गुराँस गाउँपालिका तथा नारायण नगरपालिकामा रहेका विद्यालयका शिक्षकलाई सम्बन्धी विद्यालयमा हाजिर गराएर टोलमै गएर शिक्षण सिकाई सुरु गर्ने निर्देशन दिए बमोजिम शिक्षकहरू टोलमा पुगे पनि सामाजिक दुरी र मास्कको प्रयोग बिनै शिक्षण सिकाई गराएको पाइएको छ । नारायण नगरपालिका भित्रका सबै विद्यालयका शिक्षक अहिले टोलमै पुगेर शिक्षण सिकाई सुरु गरे पनि सामाजिक दुरी र मास्कको प्रयाग नगरेको स्थानीयले बताएका छन् ।

नारायण नगरपालिका शिक्षा युवा खेलकुद शाखा प्रमुख हिमालय जङ्ग शाहले नगरपालिकाको शिक्षा समितिको बैठकले प्रत्येक टोलमा पुगेर बालबालिकालाई अध्यापन गराउँदा सामाजिक दुरी र मास्कको प्रयोग गर्न सुझाव दिए पनि शिक्षकहरूले त्यो निर्देशन पालना नगरेको आफूकहाँ गुनासो आएको बताए  । उनले प्रत्येक विद्यालयका प्रधानाध्यापकलाई फोन गरेर प्रत्येक बालबालिका र शिक्षकले मास्क प्रयोग गर्ने सामाजिक दुरी कायम गरी शिक्षण सिकाइ गर्ने पुन निर्देशन दिएको बताए ।
महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक धन बहादुर रोकायले विद्यार्थीलाई पनि मास्क वितरण गरी पढाउने तयारी गरेको बताए । उनले सुरु सुरुमा मास्कको प्रयोग नभएको स्वीकार गर्दै आगामी दिनमा मास्क सेनेटाइजर प्रयोग गरेर शिक्षण सिकाई गर्ने बताए । उनले विद्यार्थी मार्फत अभिभावकलाई मास्क किन्न लगाउने र नसक्ने विद्यार्थीलाई भने विद्यालयले व्यहोर्ने तयारी गरेको बताए ।

नारायण नगरपालिका वडा नः ५ श्याम बहादुर थापा मगरले नगरपालिकाले बालबालिकाको शिक्षण सिकाई गर्ने राम्रो अभियान सञ्चालन गरे पनि सामाजिक दुरी र मास्कको प्रयोग नभएको बताए । उनले मास्कको प्रयोग गरेर सामाजिक दुरी कायम गरी बालबालिकालाई पढाउने अभियान राम्रो भए पनि त्यो विद्यालय स्तरमा लागु नगरिएको बताए । उनले भने कोरोना संङक्रमण दर पछिल्ला समय घट्दोक्रममा भए पनि त्यसको जोखिम थयावत रहेका कारण टोलमा पुगेर शिक्षण गर्ने शिक्षकको पिसिआर परीक्षण गरेर मात्र समुदायमा गएको भएर राम्रो हुने थियो भोलि कुनै शिक्षकमा कोरोना संङक्रमण पुष्टि भएमा प्रत्येक घरमा कोरोना पुग्ने छ ।

नारायण नगरपालिका वडा नः ६ मा रहेको रेडक्रस माध्यमिक विद्यालयले भने धेरै जसो विद्यार्थीलाई विद्यालयमा बोलाएर शिक्षण सिकाई गरिरहेको छ । विद्यालयका प्रधानाध्यापक हीरामणि न्यौपानेले विद्यार्थी विद्यालय भित्र प्रवेश अघि सेनेटाइजर प्रयोग गरिरहेको र मास्कको व्यवस्थापन गर्न लागेको बताए ।