निषेधज्ञा उल्लंघन गर्ने १७ सयलाई कारवाही
बाँके : कोरोना भारइरस नियन्त्रणका लागि अनिवार्य गरिएको मास्क नलगाउने र जोर बिजोर प्रणाली उल्लंघन गर्ने १७ सयलाई बाँकेमा कारवाही गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोभिड १९ संकट व्यवस्थापन समिति बाँकेले कोरोना सङ्क्रमण नियन्त्रणका लागि जिल्लाभरी मास्क लगाउन र जोर बिजोर प्रणाली अनुसार गाडी चलाउन अनिवार्य गरिए पनि सो को उल्लंघन बढ्दै गएपछि कारवाही गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी सुवास खड्काले मास्क नलगाउने र जोर विजोर अनुसार सवारी साधन नचलाउने १ हजार ६९० जनालाई कारवाही गरेर तीन लाख १९ हजार ७०० जरिवाना असुल गरिएको बताए । डीएसपी खड्काका अनुसार बाँकेमा हालसम्म मास्क नलगाउने ६९३ जनालाई कारवाही गरिएको छ भने जोर बिजोर उल्लंघन गर्ने ९९७ वटा सवारी साधनलाई कारवाही गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगले कारवाही शुरु गरिएपछि नेपालगञ्ज, कोहलपुर र राँझालगायतका ठाउँमा अधिकांश सर्वसाधारणले मास्क लगाउने गरेको र जोर बिजोर प्रणालीबाटै सवारी साधन चलाउन थालेको पाईएको बताए ।
उनका अनुसार स्थानीयले स्वास्थ्यसम्बन्धि सुरक्षा नअपनाई जताततै हिँड्डुल गरेको पाईएकाले मास्क नलगाउनेलाई एक सय रुपियाँ जरिवाना र जोर बिजोर अनुसार सवारी साधन नचलाउनेबाट पाँचसयदेखि हजार रुपियाँसम्म जरिवाना लिन थालिएपछि अवस्थामा सुधार आएको हो । यसैबीच, स्वास्थ्य सुरक्षा पालना गरेको नगरेको बारे अनुगमन गर्न जिल्ला प्रशासन कार्यालयले एक टोली अहिले नेपालगञ्जमा परिचालन गरेको छ । सो टोलीले पसल पसलमा गएर मास्क नलगाएको वा सेनिटाइजर प्रयोग गरेको नपाएमा पसलमा तालाबन्दी गरिरहेको छ ।