Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

एक महिना नपुग्दै चुहियो आइसोलेसन अस्पताल

दैलेख : कोरोना संक्रमितको उपचारका लागि निर्माण गरिएको आइसोलेसन अस्पताल एक महिना नपुग्दै चुहिन थालेको छ । दैलेखमा कोरोना संक्रमणको दर बढ्दै गएपछि कर्णाली प्रदेश सांसद अम्मर बहादुर थापाले आफुले खर्च गर्न पाउँने निर्वाचन क्षेत्र विकास कोष मार्फत ७१ लाख रुपिँयाको लागतमा निर्माण गरिएको थियो । नारायण नगरपालिका वडा ८ को तर्ताङमा निर्माण गरिएको आइसोलेसन अस्पताल निर्माण सम्पन्न भएको एक महिना नबित्दै चुहिन थालेपनि आइसोलेसन अस्पताल दैलेखमा उपचार गराइरहेका विरामीहरुका लागि समस्या भएको छ । आइसोलेसन अस्पतालमा उपचार गराई रहेका भएका एक जना विरामीले लगातारको वर्षाले आइसोलेसन अस्पताल चुहिन थालेपछि आफुहरुलाई बस्न समस्या भएको बताए । उनले आइसोलेसन अस्पताल चुहिदा आफुहरु रातभर ओछ्यान सारेर बस्नु पर्ने अवस्था आएको बताए । उनले भने ७१ लाखको लागतमा निर्माण गरिएको आइसोलेसन अस्पताल एक महिना नपुग्दै चुहिन थालेपछि त्यसमा अनियमितता भएको हुनुपर्छ ।
अस्पतालमा उपचार गराइरहेका अर्का विरामीले आइसोलेसन अगाडिको बरन्डा उक्किसकेको र पानी चुहिएपछि रातभर ओत लागेर कुनामा बस्नुपर्ने अवस्था रहेको बताए । उनले पानी कति वेला चुहिने हो त्यो कुरेर ओछ्यान सार्नु पर्ने बाध्यता रहेको बताए ।

केहि दिन अघि आइसोलेसन अस्पतालमा उपचार गरि रहनु भएका जनप्रतिनिधिले नै अस्पताल चुहिएको भन्दै स्थानीय प्रशासनलाई खवर गरेपछि प्रशासनले निर्माण कम्पनीलाई बोलाएर निर्माण गर्न आग्रह गरेपनि त्यसको सुनुवाई नगरकै कारण पुन अस्पताल चुहिएको बताए ।
प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले आइसोलेसन अस्पताल चुहिएको भन्ने गुनासो आए लगत्तै अघिल्लै पटक निर्माण कम्पनीलाई बोलाएर पुन मर्मत गर्न लगाएको बताए । उनले निर्माण कम्पनीलाई काम गरे नगरेको आफुलाई खवर नगरेको र पुन अस्पताल चुहिएको भन्ने गुनासो आएपछि कम्पनीलाई बोलाएर मर्मत गर्न लगाउने बताए ।

जेसिका कन्ट्रक्सनका प्रमुख प्रकाश बुढाले हतार हतारमा आइसोलेसन अस्पताल निर्माण गर्नु पर्ने बाधयताका कारण रात दिन नभनेर काम गर्दा समस्या भएको बताए । उनले आइसोलेसन अस्पतालमा माथी बाट किला हान्दा तलको रड नसमातेका कारण चुहिएको भएपनि त्यसलाई पुटिङ गर्ने बताए ।
नारायण नगरपालिका दैलेखका नगर प्रमुख रत्नबहादुर खड्काले आइसोलेसन अस्पताल चुहिएको खवर पाएपछि आफैले प्रदेश सांसद अम्मर बहादुर थापालाई लिएर अनुगमन गराएको र त्यस लगत्तै मर्मत कार्य सुरु गर्न निर्देशन समेत दिएको बताए । ११ वटा स्थानीय तह रहेको दैलेखमा विहिवार सम्म कोरोना संक्रमितको संख्या ९६५ पुगेको छ भने ९२१ जना डिस्चार्ज भएका छन । भने ४४ जनाको उपचार भइरहेको छ ।